१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


लकडाउनको निर्णय मन्त्रिपरिषदले गर्ने, मोडालिटी बनाउन मुख्यसचिवलाई जिम्मा


0
Shares

काठमाडौं, बैशाख १३ । बैशाख १५ गते सकिने लकडाउनको अवधि थप्ने वा नथप्ने भन्ने निर्णय मन्त्रिपरिषदले गर्ने भएको छ ।

शनिबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन बारे मन्त्रिपरिषदले निर्णय गर्ने भन्दै त्यसको मोडालिटी बनाउन मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा दिएको छ ।

मोडालिटी बनाउने जिम्मेवारी पाएको मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले बनाएको प्रस्तावमाथि मन्त्रिपरिषदमा छलफल गरिने जनाइएको छ । कार्यदलमा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका सुरक्षा प्रमुख छन् ।

समितिको बैठकमा केही क्षेत्रमा खुकुलो बनाउने कि भन्नेबारे छलफल भएपनि ठोस निर्णय लिइएको छैन । समितिको बैठकले लकडाउनका कारण संक्रमण रोक्न प्रभावकारी काम भएको निष्कर्ष निकालेको छ ।

उता, छिमेकी मुलुक भारतले भने कृषि क्षेत्र, विकास निर्माणसहितका केही काममा लकडाउन खुकुलो बनाइसकेको छ । उसले पसलहरु पनि खोल्न सक्ने निर्णय गर्दै त्यसका लागि अनिवार्य मास्क लाउन र भौतिक दूरी कायम गर्न भने भनेको छ ।