१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


आँधीखोला गाउँपालिकाद्वारा कृषकलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण


78
Shares

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ ।

किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको साेही गाउँपालिकाले जनाएको हाे । कृषकलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभएकाे छ । अहिले गाउँमा गोरु पाल्ने चलन हराउदै गएकाे र काम गर्ने मान्छे पनि नभएकाे उहाँकाे भनाइ छ । कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएकाे समेत उहाँले बताउनुभएकाे छ । कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि कृषकलाई सहयोग गरिएको अध्यक्ष पौडेलकाे तर्क छ ।

युवाहरू विदेश तर्फ पलायन भएसँगै गोरु पाल्ने तथा खेती गर्ने कार्यमा कमी आएको तथा भौगोलिक रूपमा विकट यस क्षेत्रमा हाते ट्याक्टर वितरण कार्यक्रमले कृषि उत्पादनमा ठूलो सघाउ पुग्ने भन्दै आफूहरू कृषि खेती कार्य गर्न अझै उत्साहित भएको कृषकहरूले बताएका छन् । प्रति ट्याक्टर कुल ४९ हजार मध्ये गाउँपालिकाले २४ हजार पाँच सय अनुदान दिएसँगै कृषकले २४ हजार पाँच सयमा ट्याक्टर पाएको आँधीखोला गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताउनुभयाे ।