२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


युरोपमा ७५ वर्षको इतिहासमा यस वर्ष सबैभन्दा बढी गर्मी


1.43k
Shares


दीपक चालिसे
फ्रान्स । फ्रान्समा सन् १९४७ यताकै इतिहासमा यो यस वर्ष सबैभन्दा बढी गर्मी मापन गरिएको छ ।

फ्रान्स सहित युरोपका देशहरुमा यो वर्ष धेरै गर्मी बढेको हो । पछिल्ला तीन दिनमा फ्रान्समा धेरै गर्मी बढेको छ । गर्मीका कारण मानिसहरूको जनजीवन प्रभावित बनेको छ ।

फ्रान्सकी स्वास्थ्यमन्त्री ब्रीजिट् बोरगुइनले गर्मीका कारण अस्पतालमा मानिसहरू भरी भराउ रहेका र आवश्यक सतर्कता अपनाउन आग्रह गरेकी छिन् । गर्मीबाट जोगिन बालबालिकाहरूलाई सतर्कता अपनाउन सार्वजनिक सन्देश जारी गरीएको छ । उच्च गर्मी भएकाले रेड जोन तोकिएर घर भित्रै बस्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

गत शुक्रबार ३५ डिग्री र शनिबार ३८ डिग्री तापक्रम पुगेको थियो भने यो महिना भरीमा ४२ डिग्री तापक्रम पुग्ने अनुमान गरिएको फ्रान्सको मौसम विभागले जनाएको छ । रेड्क्रस फ्रान्सले घरबार बिहिन समुदायका मानिसहरूलाई चिसो पानी बितरण गरेको छ ।

फ्रान्सेली मौसम बिभागका अनुसार सन् १९४७ पछिको यो सबै भन्दा बढी गर्मी हो । गत शुक्रबार र शनिबार फ्रान्सको दक्षिणी भागका क्षेत्रमा ४२ डिग्री तापक्रम पुगेको थियो । जलबायु परिवर्तन ले गर्दा तापक्रम बढेको र अब सामन्य भन्दा बढी तापक्रम हुने मौसमबिद्हरुले बताएका छन् ।

फ्रान्समा वृद्ध व्यक्तिहरूका हेरचाहका लागि घरहरूमा विशेष उपायहरू अपनाइएको छ । भवनहरूलाई चिसो पार्न पानी छर्किएको छ । बोर्दो शहरका अधिकारीहरुले सार्वजनिक कार्यक्रमहरू भवन बाहिर गर्न प्रतिबन्ध लगाएका छन् ।गर्मीमा हानिकारक धुवाँ वा ओजोनको एकाग्रतालाई सीमित गर्न राजधानी पेरिस वरपर धेरै क्षेत्रहरूमा गाडीको गति सीमाहरू तोकिएको छ ।

फ्रान्समा रहेका विभिन्न नेपाली समुदाय आवद्ध संघसंस्थाहरूले पनि उच्च गर्मी भएकाले काम विशेष भन्दा बाहेक अरु समयमा आफू रहेको घरमा बस्न र गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ। अहिले सम्म नेपाली समुदायमा यसको कुनै असर परेको जानकारी नआएको एनआर एनए फ्रान्सका अध्यक्ष गिता खनालले जानकारी दिनुभयो । युरोपमा स्थान विशेष १५ देखि ३१ डिग्रीसम्मको तापक्रमलाई सामान्य मानिन्छ ।