८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘टाइम स्टार्ट नाउ’सँगै जब नवौं पटक छुरा चल्यो…….


0
Shares

विमला देवकोटा

जीवन दुःख, सुख, हार जीत, पीडा, खुशीको एउटा पोको रहेछ । चाहेका नहुने, नचाहेको ब्यहोर्नैपर्ने नियति कसैले टार्न नसक्ने रहेछ । एउटा सग्लो ज्यानलाई नौं नौं पटक चिर्नुपर्ला र प्रत्येक चिराइका असह्य वेदनालाई आशातित भविष्यसँग जोडेर सामना गर्नुपर्ला भन्ने सायदै कसैले पनि सोचेको हुन्छ । तर नौं नौं पटक अनेकन बहानामा शरीरमा छुरा चल्दाका अनुभूतिले भने मन बेला बेला सिरिंङ्ग नै भइरहँदो रहेछ ।

म र मेरो शरीरका लागि यो पहिलो पटक पनि थिएन र छुरा चल्दाको नौलो अनुभव पनि होइन । काठमाडौंका धेरै अस्पतालका अप्रेशन थिएटर र पोष्ट अपरेटिभ वार्डमा समय बिताइ सकेको थिए । तर जति जति समय बित्दै जान्छ उति उति भोगाइ र अनुभव पनि थपिँदो रहेछ । तर नवौं पटक छुरा चल्दाको अनुभव भने नौलो र कल्पनाभन्दा बाहिरको भयो । म आफ्नो कार्यालयबाट नियमित स्वास्थ्य परीक्षणका लागि २०७६ साल मंसिर २७ गते निजामती अस्पतालमा पुगे । परीक्षणमा स्वास्थ्यमा अरु कुनै समस्या नभए पनि पाठेघरमा समस्या देखियो र जतिसक्दो चाँडै निदान गर्नुपर्ने चिकित्सकले बताए ।

त्यहीक्रममा सिभिल अस्पताल, ओम अस्पताल, काठमाडौं मोडेल अस्पताल, ह्याम्स, ग्राण्डीसहितका  अस्पतालबाट परामर्श लिइयो । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा पुस ३ गतेबाट प्रत्येक मंगलवार र बिहीवारको साँझ धाउने दैनिकी नै बन्यो । शरीर दिन प्रतिदिन जिर्ण बन्दै गएको थियो । उपचारका लागि कुनै विकल्प बाँकी राखिएन । जसले जे भन्छ त्यही गरियो । सिफारिश गरिएका जति डाक्टर पनि भेँटे । रोगको समाधान हुनेभन्दा झन् थपिँदो भयो । त्यही मौकामा सुगर पत्तो नदिई उकालो लागेछ । सबैखाले उपचार र डाकटरले एउटै निचोड निकाले शल्यक्रिया ।

मानसिक रुपमा आफूलाई तयार पार्दै माघ ४ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुने र मंगलवार वा वुधवार अप्रेशन गर्ने भनेर सम्पूर्ण कागज पत्र र अस्पताल बस्ने सामानसहित अस्पताल पुगे । तर ल्याब परीक्षणका रिपोर्टहरुमा अरु ठीक भए पनि सुगरको मात्रा बढि देखियो । यस्तोमा अप्रेशन गर्न नमिल्ने जानकारी नियमित परिक्षण गर्ने चिकित्सकले बताए । तर स्वास्थ्य अवस्था नाजुक भैसकेकाले विकल्पका लागि अर्को बाटो खोज्न थालियो । शिक्षण अस्पतालबाट नजिक रहेको सुगर तथा गाइनो दुवै जाँच हुने अस्पताल खोज्न थाल्यौं । साथमा रहेका राजेश भाइ पनि भौतारिँदै थिए । त्यही क्रममा पुगियो, मण्डिखाटारस्थित ह्याम्स अस्पताल ।

पहिला पनि डा. पदमराज पन्तसँग परामर्श लिएको हुँदा अस्पताल नौलो त भएन । त्यहाँ सल्लाह भएबमोजिम माघ ८ गते बुधवार भर्ना हुने र बिहीवार अप्रेशन गर्ने भनेर घर आयौं । तोकिएको मितिमै भर्ना हुन गइयो तर जे सोचे अनुसार भएन । फेरि चिनी रोगले बाधा गर्यो । भर्ना गरेपनि डाक्टरले अप्रेशन गर्न मानेनन् । एकातिर चिनी रोग अर्कातर्फ धेरै पटक अप्रेशन गरेको शरीर कतै असफल पो हुने होकी भन्ने भय । डाक्टरसँग अप्रेशन ढिला हुनुको कारण सोधे । तथ्य थाहा पाएपछि आफ्नो अप्रेशनका लागि डाक्टरको टीमलाई तयार पार्न म आफैले परामर्श पो दिए । विरामीलाई डाक्टरले गर्नुपर्नेमा ठीक उल्टो । १२ गते आइतवार अपरेशन गर्ने निधो भयो । नवौं पटक शरीर चिर्दै गर्दा आफ्ना दुबै सन्तान साथमा नहुँदाको पीडा मनमा थियो नै । विदेशमा उच्च शिक्षाका लागि रहेका उनीहरुलाई बोलाउन पन िमनले मानेन । यस्तै कुराले मनमा कता कता असहज भइ राखेको थियो, विकल्प पनि थिएन ।

म अस्पतालको पोशाक, शैया र औषधिको भरमा १०।१२ घण्टा अन्न पानी छाडेर आफ्नै शरीरमा छरा चलाउने प्रतीक्षामा थिए । समय भयो मिठो बोलीसहित मलाई लिन आउने सिस्टरहरु आए । सबै आफन्तलाई नियालेर हेरे । आफ्ना प्राण श्रीमानलाई अँगालो हाले, निकैबेर । सायद जीवनमा यो नै अन्तिम समय पो थियो कि ? फेरी शल्यक्रियाको शैयाबाट फर्केर आउँछु कि आउन्न यस्तैमा गहभरी आँशु बोकेर म ह्वीलचेयरमा बसे । उनीहरुले जता लगे त्यतै डोरिए । म लिफ्टमा र अरु पैदलै माथिल्लो तला चढ्यौं । शल्यक्रिया कक्षमा पुग्दा विभिन्न विधाका एक दर्जन स्वास्थ्यकर्मी मेरै प्रतीक्षामा थिए, सम्पूर्ण तयारीका साथ आफ्नो सुरक्षा पोशाकमा । सबैले पालै पालो आआफ्नो भुमिका निभाउन थाले । त्यहाँ अरु पनि म जस्तै फरक फरक रोगमा विरामी थिए । तर सबैको ध्यान मतिरै थियो कारण मेरो समस्या जटिल थियो । उनीहरु मेरो अप्रेशनको लागी तयार थिएनन भोलि आउने संकट र आजको व्यवस्थापन उनीहरु सबैमा त्यही त्रास थियो । भित्रका अरु विरामी रुने कराउने गर्दैथिए । म भने भगवानको शरणमा लीन थिए र मस्कुराइरहेकी थिए । त्यसैले त उनीरुले मेरो नामै “स्माइली प्यासेन्ट” राखिदिए । आज अस्पताल जाँदा पनि उनीहरुले त्यही नामले बोलाउँछन् ।

दिउँसो १ बजे अपरेशन कक्षमा लगिएको मेरो अपरेशन २ बजेबाट शुरुभई करिब एक घन्टामा सकियो । उनीरुले पूरै वा अर्ध बेहोश अपरेशन कसरी गर्ने भन्ने हुँदा दुबैको फाइदा बेफाइदा सोधेपछि मेरै अनुमतिमा आधा शरीर बेहोश गराउने निर्णय भयो । ढाडमा डरलाग्दो ढंगले ईजेक्सन लगाइयो जसले मेरो शरीर आधा लड्याउँथ्यो । अर्कतर्फ अपरेशन टीम आआफ्नो जिम्मेवारी सम्हाल्न तयारी अवस्थामा थिए । मलाई सुताइयो । म उत्तानो परे । मेरो दुबै हात बाँधियो । बायाँ हातमा स्लाइन पानी, दायाँ हातमा भाइटल साइन सेट गरिएको थियो । ईजेक्सन लगाएको ५ मिनेटपछि दुई चार जनाले पेटतिर लुछेको जस्तो लाग्यो । त्यहीबेला एक जना नर्सले मेरो बायोग्राफी बताउन थालिन् । जीवनमा पहिलो अनुभव । पहिला न कसैले सुनाएका थिए न आफुले नै भोगेको । मेरो लागि अप्रेशन त पहिलो थिएन तर यो अनुभव निकै नौलो थियो ।

डाक्टर फलानोका नेतृत्वमा रहेको सर्जरी टिम यहाँहरुको अगाडि यो नाम गरेको वर्ष यतिको तपसिलका अप्रेशन तपसिलका अस्पतालहरुमा गरिसकेको र अहिले तपाईहरुको अगाडि यसको अप्रेशन गर्न सुतिरहेको विरामीको अप्रेशन गर्न अनुमति दिन्छु । अब तपाईहरुको समय शुरु हुन्छ (टाईम स्टार्ट नाउ) भनेर उनले हवाइजहाज उड्ने बेलामा क्याविन क्रूले जानकारी गराए जसरी गराइन । अप्रेशनका सिनियर डाक्टरले नर्स म शुरु गरौ ल हैत यो फलाना विरामी………..को मैले अप्रेशन गर्न शुरु गरे । त्यसपछि सवाल जवाफ शुरु भयो नर्सले अप्रेशनलाई लाग्ने समय सोधिन् । मोटामोटी एक घण्टा भनेर जवाफ दिए । अनि टोलिले काम शुरु गर्यो । त्यही बेला अलि तनाव जस्तो भयो । अप्रेशन गर्न कहाँनेर चिर्ने छलफल पो चल्न थाल्यो । सबैको सहमतिमा यहाँ भनेको मात्र सुने ।

अपरेशन कक्षमा सबै डाक्टरको उपस्थिति थियो । जस्तो इनेस्येथेसियाका, मुटुका, सुगरका डाक्टर अनि नर्सहरु वरीपरी थिए । मलाई लाग्यो मलाई बचाउन सबै खाले भगवानको उपस्थिती भएको छ । मेरो छातिदेखि तल आधा पर्दाले ढाकेर मैले चिरफार नदेखोस् भनि आँखा छोपिएको थियो । औषधिले वा अरु केहीले मलाइ अनुहार वरीपरी चिलाउन थाल्यो । दुबै हात बाँधेकाले सँगै रहेकी नर्सलाई कन्याइदिन भने । उनले मैले जता भन्छु त्यतै कन्याउन र बेला बेला मैले सोधेको प्रश्नको उत्तर दिन थालिन् । मेरो काम स्किृनमा हेर्ने र समय समयमा सकियो भनेर सोध्ने थियो । त्यो बेला म “ॐ नमः शिवाय” १०८ महामृत्युन्जय मन्त्र “ॐ त्रयम्बकं यजामहे सुगन्धिम् पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान्मृत्युर्मुक्षीय माऽमृतात् ।। ॐ ।” १०८ पटक जप्दैपनि थिए । शनि मन्त्र आफुले जानेका जति अरु मन्त्र पनि जप्दै थिए । बेला बेला उनीहरु के गरेको भन्दै सोध्थे । म मन्त्र जपेको भन्दै जवाफ दिन्थे ।

अप्रेशन माघ १२ गते २ बजेर ३९ मिनेटमा सकियो, जुन समय मेरो जीवनका लागि अर्को संयोग थियो । एउटी नारीका लागि अपरेशन गरेर पाठेघर रित्याउनु भनेको निकै कठिन अनुभव हुँदो रहेछ । अपरेशन सकिएपछि कोठा सारियो । फेरि आफन्तहरुसँग देखादेख गर्ने अवसर मिल्यो । म उसैगरी ह्वीचियरमा गुड्दै अर्को कोठातर्फ लागे । शरीरमा नवौं पटकको छुरा चलाइसँगै जीवनको अर्को अध्याय शुरु भयो । बिस्तारै मानिसहरुसँग भेटघाट गरे । तर त्यही दिन राति एक्कासी पेटमा बढेको पीडाले मलाई बाँच्ने आश टुट्दै गयो । छटपटीकै बीचमा सात आठ पटक वान्ता भयो । नर्सहरुको सारा प्रयास निरर्थक झै हुँदैथ्यो । म शिथिल बन्दै गयो । रात छिप्पिँदै जाँदा मन झन् आत्तिन्थ्यो । आफूलाई जतिसुकै दरो आत्मविश्वासकी हुँ भन्न्े लागेपनि यस पटक म लारिइसकेकी थिए । हंसले ठाउँ छोड्दै यो । श्रीमान् र छोराहरुको सम्झनाले झन् च्याप्दै लगिरहेको थियो । भोलि के सोच्लान् ? यस्तै कुराले मन आत्तिन्थ्यो । तर एएटा आश्चर्य विस्तारै पीडा कम हुँदै गयो । झण्डै कालको मुखबाट उम्केर आए । अपरेशन सकिएको करिब तीन महिनामा आज यो लेख्दा म पनि संसारभरका मानिसझै कोरोनाको कहर काट्दैछु । सबैले कोरोनालाई जित्न सकौं । घरमै बसौं, लकडाउनको पालना गरौं ।