
एजेन्सी । इथियोपियाको ओरोमिया क्षेत्रमा भएको पछिल्लो आक्रमणमा २ सय भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।
मारिनेहरु अम्हारा जातीय समूहको रहेका छन् । विद्रोही समूह ओरोमो लिबरेशन आर्मी (ओएलए) ले गरेको आक्रमणमा उनीहरूको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै न्यूयाेर्क टाइम्सले जनाएकाे छ ।
ओरोमियाको क्षेत्रीय सरकारले आक्रमणको पुष्टि गरेको भए पनि कति हताहत भए भन्ने बारेमा विवरण भने नखुलाएको समाचारमा उल्लेख छ । आक्रमणबाट बच्न सफल सर्वसाधारणका अनुसार आक्रमणमा मारिएकाहरूको शव सामुहिक रूपमा गाडिएको छ ।
उनीहरूले नागरिकहरूविरुद्ध अहिलेसम्मको सबैभन्दा घातक आक्रमण भएको प्रतिक्रिया दिएका छन् । घटनास्थलमा सुरक्षाकर्मी पुगे पनि पुनः आक्रमण हुन सक्ने भन्दै सर्वसाधारण त्रसित छन् ।
करिब ३० वर्षअघि पुनर्वास कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने अम्हारा जाति अहिले नरसंहारको सिकार भएको भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।
जातीय द्वन्द्वले अफ्रिकाको दोस्रो–सबैभन्दा बढी जनसंख्या भएको देशलाई टुक्राउने धम्की दिएपछि यो आक्रमण भएको हो ।
उत्तरी टिग्रे क्षेत्रमा सन् २०२० मा सुरु भएको लडाई गत वर्ष छिमेकी क्षेत्र अफार र अम्हारामा फैलिएको थियो ।
यसैबीच, ओएलएका प्रवक्ता ओडा टार्बीले आरोपहरूको खण्डन गर्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदको सरकारले फेरि पनि ओएलएलाई आफूले गरेको अपराधका लागि दोषारोपण गरेको ट्वीटमार्फत दाबी गरेका छन् ।
इथियोपियाका ११ करोडभन्दा बढी मानिसमध्ये दोस्रो ठूलो जातीय समूह अम्हारा समुदायलाई बारम्बार लक्षित गरि आक्रमण गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्