
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं सांसद भीम रावलले सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोगाम (एमपीपी)मा सहभागी नहुने भनेर पत्राचार नगरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता रावलले सरकारले एसपीपीमा सहभागी नहुने भनेर हालसम्म अमेरिकालाई पत्राचार नगरेको भन्दै आपत्ति जनाउनुभएको हो ।
सांसद रावलले अमेरिकाले नेपालले सम्झौता रद्ध गर्न सक्ने भनेर भनेको भए पनि नेपाल सरकारले पत्राचार गर्न नसकेको बताउनुभयो । उहाँले पत्र नपठाउनुको कारण के हो ? भनेर सरकारलाई प्रश्न समेत गर्नुभयो ।
सांसद रावलले प्रधानसेनापति, परराष्ट्रमन्त्री, गृहमन्त्री र गठबन्धन दलका नेताहरूले समेत एसपीपीमा नेपाल सहभागी नहुने बताइरहँदा पनि पत्र नपठाएकोप्रति आशंका व्यक्त गर्नुभयो ।
नेता रावलले आगामी निर्वाचनमा समान विचार, दर्शन र कार्यक्रम भएकाहरूसँगमात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिनुभयो । विपरीत सिद्धान्त भएकाहरूबीचको गठबन्धन अनैतिक हुने उहाँको तर्क थियो ।
सांसद रावलले मिलेर पद बाँडफाँड गर्नका लागि सत्तारुढ गठबन्धन भएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्