१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिंसात्मक प्रदर्शन बढेपछि मोदीको प्रष्टोक्ति– ‘रक्षा क्षेत्र हरेक युवाका लागि खुला छ’


1.404k
Shares

एजेन्सी । सेना भर्ती सम्बन्धी नयाँ योजनाको विरोधमा देशभर प्रदर्शन हिंसात्मक बन्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको बचाउ गर्नुभएको छ ।

मोदीले आफ्नो सरकारले रक्षा क्षेत्र हरेक युवाका लागि खुला गरेको बताउँदै पछिल्लो आठ वर्षमा आफ्नो सरकारले अन्तरिक्ष र रक्षा क्षेत्र युवाका लागि खुला गरेको बताउनुभयो ।

बैंगलोरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले सुधारको बाटोले मात्रै नयाँ लक्ष्यतर्फ लैजान सक्ने भन्दै दशकौंसम्म सरकारको एकाधिकारमा रहेको क्षेत्र खुला गरेको बताउनुभयो ।

केन्द्र सरकारको अग्निपथ योजनालाई लिएर देशमा विरोध प्रदर्शन जारी छ । धेरै राज्यमा हिंसात्मक प्रदर्शन जारी रहँदा प्रधानमन्त्री मोदीले सरकारी नीतिको बचाउ गर्नुभएको हो ।

‘ड्रोनदेखि लिएर हरेक प्रविधिसम्म, हामीले युवाहरूलाई काम गर्ने मौका दिइरहेका छौं,’ प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘आज हामीले युवाहरूलाई सरकारले बनाएको विश्वस्तरीय प्रविधिमा आफ्ना विचार राख्न आग्रह गरिरहेका छौं ।’

मोदीले विगत ८ वर्षमा १ सय अर्ब डलर बढी कम्पनी बनेकामा हरेक महिना नयाँ कम्पनी थपिँदै गएकोमा पनि खुशी व्यक्त गर्नुभयो । यसैबीच सरकारी आदेश पालन गर्दै भारतीय सेनाले भर्तीका लागि आव्हानसमेत गरिसकेको छ ।

चार वर्षका लागि छानिएका अग्निपथ भर्ती योजनाका जवानहरूलाई जमिन, समुन्द्र वा हवाई जहाँ पनि पोस्टिङ गर्न सकिने सूचनामा उल्लेख छ । नियुक्तिको चार वर्षमा उनीहरूलाई पदबाट मुक्त गरिनेछ । पदमुक्त हुने समयमा उनीहरूलाई निश्चित प्याकेज दिइनेछ तर पेन्सन दिइने छैन ।

उनीहरूले पूर्व सैनिकको दर्जा त पाउने छैनन् नै पूर्वसैनिकले पाउने स्वास्थ्य, क्यान्टिन जस्ता सेवाहरूबाट समेत बञ्चित गराइनेछ । काम गरुन्जेल भने उनीहरूलाई भारत सरकारले तलब दिनेछ ।