१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलात्कार आरोपी मनोज पाण्डे जेल चलान


9.36k
Shares

काठमाडौं । यौन शोषणकोे आरोप लागेका मनोज पाण्डे जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध २ वटा कसुरमा १८ वर्ष कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

पाण्डेविरुद्ध मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गरिएको हो । जिल्ला अदालतले पाण्डेलाई मानव बेचबिखनको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

बाल यौन दुर्व्यवहारको कसुरमा भने १ लाख धरौटी माग गरिएको छ । शरीर बन्धक बनाइ नाबालिगलाई शारीरिक शोषण गरेको लगायतको अभियोगमा उनलाई १० देखि १५ वर्ष कैद सजायको माग दाबी गरिएको छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताका सहभागी (प्रतिस्पर्धी)लाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको थियो । पीडितले घटना सार्वजनिक गरेपछि फरार रहेका पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् ।