
ओखलढुंगा । ओखलढुंगामा यसवर्ष समयमै वर्षा भएका कारण सामुदायिक वनमा आगलागीका घटनामा कमी आएको छ ।
विगतका वर्षमा सामुदायिक वनमा आगलागी भएका कारण ठूलो मात्रामा क्षति हुने गरेपनि यसवर्ष भने ओखलढुंगामा न्यून क्षति भएको हो। चालू आर्थिक वर्षको फागुनदेखि जेठ महिनामा जिल्लामा ४ वटा सामुदायिक वनमा मात्र आगलागीका घटना भएकाे डिभिजन वन कार्यालय ओखलढुंगाले जनाएकाे छ। डिभिजन वन कार्यालय ओखलढुंगाका अनुसार यसवर्ष ६० हेक्टर सामुदायिक वन क्षेत्रमा क्षति भएको हो ।
अघिल्लो आर्थिक वर्षमा जिल्लाका ११ वटा सामुदायिक तथा कवुलियति वनमा आगलागी भएको थियो। आगलागीबाट १ हजार ४ सय १९ हेक्टर वन क्षेत्र जलेर नष्ट भएको थियो। वन आगलागीका कारण ओखलढुंगा जिल्लामा वर्षेनी जनधनको क्षति हुने गरेको थियो । विगतका वर्षमा वन क्षेत्रमा लागेको आगो हप्तौंसम्म नियन्त्रणबाहिर समेत रहने गरेको डिभिजन वन कार्यालय ओखलढुंगाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्