
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पद्धार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न बाध्यात्मक रुपमा मूल्यवृद्धि गर्नुपरेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिदैँ मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मुल्य निरन्तर बढिरहेको र सोही अनुरुप मुल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको हो । उहाँले नेपाल आयल निगमलाई जेठ मसान्तसम्म मात्रै ५० अर्ब रुपैयाँ घाटा भएको बताउनुभयो ।
उहाँले इन्डियन आयल कर्पोरेशनलाई २२ अर्ब कक्यौता रहेको उल्लेख गर्दै कर्पोरेशनलाई तिर्नुपर्ने रकम बढ्दै जाने हुँदा आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि मूल्य समायोजन गर्नुपरेको स्पष्ट पार्नुभयो । मन्त्री बडूले रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रुपमा ऊर्जाको संकट निम्तिएको र पेट्रोलियम पद्धार्थको मुल्य बढेर आइरहेको बताउनुभयो ।
मन्त्री बडूले सरकारले एलपी ग्याँसको खपत न्युनिकरण गर्ने र विद्युतको खपत बढाउन विद्युत महशुलमा सहुलियत दिई राहत प्रदान गर्ने, विद्युतिय चुल्होलगायत विद्युतिय सामग्री प्रयोग बढाउनका लागि करमा छुट प्रदान गर्ने नीति लिएको पनि बताउनुभयो ।
उहाँले विद्युत प्रयोग गर्ने उद्योगलाई विद्युत महशुलमा छुट दिने सरकारको नीति रहेको पनि उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्