
काभ्रे । जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले नवनिर्वाचित युवा जनप्रतिनिधिहरू ठूलो परीक्षामा सामेल भएको बताउनुभएको छ ।
हिजो नेताहरूले केहि गरेनन् भन्नेहरू आज काम गर्ने ठाउँमा पुगेको भन्दै गौतमले उनीहरूको कामले राजनीतिक भविष्य निर्धारण गर्ने बताउनुभयो ।
धुलिखेलमा सामुदायिक सारथी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले अहिलेको स्थानीय तह निर्वाचनमा निर्वाचित युवाले परीक्षा उत्तीर्ण गर्न नसके राजनीतिक जीवन अन्धकार हुने बताउनुभयो ।
समन्वय प्रमुख गौतमले राजनीतिक दल सुध्रिनु आवश्यक रहेको बताउनुभयो । राजनीतिक दलले इमान्दारीपूर्वक काम नगरे जनताको अगाडी उठबस गर्नुपर्ने दिन आउने उहाँको भनाइ छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङको उदाहरण दिँदै गौतमले उनीहरूको विजय ‘नो भोट’ भएको बताउनुभयो ।
‘काठमाडौंमा बालेन शाह र धरानमा हर्क साम्पाङले मेयर जित्ने कुरा ‘नो भोट’ हो,’ उहाँले भन्नुभयो, ‘राजनीतिक पार्टीले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्न नसके आजका नागरिक समाजका अनुहार भोलिका मेयर, सांसद, मन्त्री र प्रधानमन्त्री हुन् ।’
प्रतिक्रिया दिनुहोस्