१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जयपृथ्वी नगर जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित घोषणा


65
Shares

बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।

२३ महिना पूरा भएका सबै बालबालिकाले पूर्ण खोप पाइसकेपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।

केहि वर्षअघि खोप पुर्‍याउन नसक्दा यहाँका बालबालिकाहरू कुपोषणको सिकार हुने गरेका थिए । विभिन्न कारणले बालबालिकाहरू मृत्युको मुखमा पुग्ने गरेका थिए ।

तर, स्वास्थ्य क्षेत्रमा आएको सुधारसँगै मातृ तथा शिशु मृत्यददर कम हुने गरेको जयपृथ्वी नगरपालिकाका स्थानीय समाजसेवी धर्मराज रसाइलीले बताउनुभयो ।

वडा नम्बर १ देखि ११ सम्मका सबै २३ मसिहना मुनिका बालबालिकालाई पूर्ण खोप प्राप्त गरिसकेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको जयपृथ्वी नगरपालिकाका स्वास्थ्य संयोजक जनक बहादुर सिंहले बताउनुभयो ।

गाउँघरमा रहेका बालबालिका खोपबाट बञ्चित नभए पनि रोजगारीका लागि सन्तानसहित भारत गएका अभिभावकका बालबालि खोपबाट बञ्चित हुनसक्ने स्वास्थ्य संयोजक सिंहको आशंका छ । यद्यपि त्यस्ता बालबालिकालाई भारतमै खोप लगाउन सकिने उहाँले बताउनुभयो ।

नगरभित्रका बालकालिकालाई खोजी–खोजी खोप लगाएकोमा नगरप्रमुख चेतराज बजालले स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिनुभयो । अझै पनि छुटेको भए नगरपालिकालाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।

नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । यस वर्ष जिल्लाको जयपृथ्वी नगरपालिका पहिलो पूर्ण खोप सुनिश्चित गर्ने पालिका बनेको छ ।