
ओखलढुंगा । नेपाल खाद्य संस्थानको शाखा कार्यालयले ओखलढुंगामा सहुलियत दरमा उपलब्ध गराउँदै आएको चामल बिक्री हुन छाडेको छ ।
स्थानीय व्यापारीहरूले गाउँगाउँमै पुगेर खाद्य सामग्रीको व्यापार गर्न थालेपछि खाद्य संस्थानको बिक्री निरन्तर घटेको हो ।
सर्वसाधारणलाई सरकारी अनुदानमा खाद्यान्न उपलब्ध गराउनका लागि २०३१ सालमा ओखलढुंगा सदरमुकाममा खाद्य संस्थानको कार्यालय स्थापना भएको थियो ।
कार्यालयले सदरमुकामबाटै सुलभ मूल्यमा सेवा दिइरहेको थियो । पछिल्ला वर्षहरुमा जिल्लामा खाद्य संस्थानको चामल बिक्री हुने क्रम घटेको संस्थानका निमित्त शाखा प्रमुख नरेन्द्रकुमार शर्माले बताउनुभयो । विगतमा ओखलढुंगामा एक हजार ९ सय क्विन्टलसम्म चामल खपत हुने गरेको संस्थानको रेकर्डमा देखिन्छ ।
तर, चालु आर्थिक वर्षका लागि ८ सय क्विन्टल चामल ठेक्का लागेकोमा जेठ मसान्तसम्म मुस्किलले ५ सय क्विन्टल मात्रै चामल बिक्री भएको छ । संस्थानले अहिले स्टीम जीरा मसिनको चामल प्रतिकेजी ६६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अरुवा सोना मन्सुली चामलको मूल्य ४९ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्