
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) अविश्वसनीय भएको भन्दै रोक्न सरकारसँग माग गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासहितका पदाधिकारीले पूर्व स्वास्थ्यमन्त्री र विज्ञहरूसँग गरेको छलफलले अविश्वसनीय भएकाले आरडीटी टेष्ट रोक्न माग गर्दै परीक्षणलाई समुदायस्तरसम्म लैजान सुझाव दिएको छ ।
र्यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेकाले त्यसलाई निरन्तरता दिने कार्य रोक्न र पीसीआरकै क्षमता र दायरा बढाउन माग गरिएको हो ।
कांग्रेसले कोरोनाको जोखिम सामना गर्ने रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको आरोप पनि लगाएको छ ।
स्वास्थ्यकर्मीहरुलाई पर्याप्त पीपीई लगायतका गुणस्तरीय सामग्री उपलब्ध गराउन, स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने घटना रोक्न, अस्पतालहरुको हालको क्षमता अधिकतम उपयोग गर्दै जनशक्ति र उपकरण थप्न सरकारलाई कांग्रेसको सुझाव छ ।
अरु रोगका बिरामीको उपचारका लागि सहज वातावरण बनाउन, अत्यावश्यक औषधिका उत्पादन र आयातमा सचेत रहन एवं क्वारेन्टिनको उचित ब्यवस्थापन गर्न कांग्रेसले भनेको छ ।
बैठकको सुरुवातमा सभापति शेरबहादुर देउवाले पर्याप्त सुरक्षा सामग्री अभावकाबीच देशभरि खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको प्रशंसा गर्दै कोरोनालाई स्वास्थ्यकर्मीकै नेतृत्व र सुरक्षाकर्मीको समन्वयमा परास्त गर्नुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्