
एजेन्सी । अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनको संख्या ९ सय २० पुगेको छ । छ सय भन्दा बढी घाइते भएका छन् ।
भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । मध्यरातपछि भूकम्प आउँदा धेरै मानिसहरू सुतिरहेका थिए ।
अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले भूकम्प ६ दशमलव १ म्याग्निट्यूड मापन गरेको जनाएको छ । प्रभावित क्षेत्रमा उद्दारका लागि सुरक्षा निकाय परिचालन गरीएको तालिवानी सरकारले जनाएको छ ।
भूकम्पका कारण सो क्षेत्रमा रहेका कच्ची घरहरू क्षतिग्रस्त भएको बताइएको छ । उद्दारकर्ताहरू घाइतेको उपचारमा दौडधुप गरिरहेका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिएका छन् ।
दुर्गम क्षेत्र भएकाले हेलिकोप्टर प्रयोग गरेर घाइतेहरूलाई अस्पताल लगिएको छ । तालिवानी नेता हिबतुल्लाह अखुन्जादाले भूकम्पका कारण सयौं घरहरू भत्किएको र मृतकको संख्या अझै बढ्न सक्ने बताउनुभयो ।
केन्द्रविन्दु भन्दा पाँचसय किलोमिटर टाढासम्म भूकम्पको तरङ्ग पुगेको बताइएको छ । अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्रले जनाएको रोयटर्सले उल्लेख गरेको छ ।
अफगान सरकारले उक्त क्षेत्रमा थप विपद् आउन नदिनका लागि तत्काल उद्धार टोली पठाउन दातालाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्