१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पेट्रोलियम पदार्थको मूल्यवृद्धिदेखि पाठ्यपुस्तकको अभावमा सरकारले ध्यान दिन सांसदको माग


104
Shares

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा ध्यान नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिदेखि पाठ्यपुस्तकको अभावमा बालबालिकाको पढाइ प्रभावित भएका विषयमा सरकारको ध्यान नपुगेको बताएका हुन् । नेकपा एकीकृत समाजवादीकि सांसद समीना हुसेनले पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिका कारण श्रमिक र निम्न आय भएकाहरुले चुल्हो बाल्न नसक्ने अवस्था भएको बताउनुभयो । उहाँले यस्तो स्थितिलाई ध्यान दिँदै पेट्रोलियम पद्धार्थको मूल्य छिटोभन्दा छिटो घटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा(एकीकृत समाजवादी)कि सांसद लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिको गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताउनुभयो । उहाँले नागरिकता विधेयक र संघीय निजामती ऐन छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा(एमाले)का सांसद लालप्रसाद साँवा लिम्बुले विद्यालयहरुमा पाठ्यपुस्तक पुग्न नसकेको बताउनुभयो । उहाँले प्रथम त्रैमासिक परीक्षा आइसक्दा पनि पाठ्यपुस्तक नपाइएको बताउनुभयो । उहाँले लाखौ विद्यार्थीहरुको भविष्य अन्यौलमा नपार्न सरकारलाई आग्रह गर्नुभयो ।

नेकपा(एमाले)का सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फाष्टट्रयाकबाट पारित गरि नागरिकताको वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले सरकारले संघीय निजामती विधेयक फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहसनहस बनाएको आरोप लगाउनुभयो । उहाँले संघीय निजामती विधेयकलाई पनि संसदमा ल्याई पारित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा(एमाले)कि सांसद बिमला विश्वकर्माले स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो ।

नेकपा(माओवादी केन्द्र)कि सांसद सत्य पहाडीले जाजरकोट, धादिङ र बझाङ जिल्लाका ३ वटा स्थानीय तहमा बैंकका शाखा नपुग्दा सामाजिक सुरक्षा भत्ता रोकिएको बताउनुभयो । उहाँले सो स्थानमा सामाजिक सुरक्षा भत्ता पु¥याउन सरकारसँग माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले थारु क्लष्टरलाई समेटेर निजामती सेवा ऐन पारित गर्न माग गर्नुभयो । उहाँले टिकापुर घटना विशेष प्रकृतिको राजनीतिक घटना भएको उल्लेख गर्दै सो घटनामा थारुहरुमाथि लगाइएको मुद्धा फिर्ता गर्न सरकार सँग माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद सत्य नारायण शर्मा खनालले विदेशी मुलुकबाट नेपालमा मंकिपक्स भाइरस आउने खतरा रहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले यस विषयमा अध्ययन र तयारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले खेत रोप्ने बेलामा किसानले मल नपाएर हाहाकार भएको भन्दै तुरुन्त मलको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।