१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, पाठकहरूको बाक्लो उपस्थिति


169
Shares

काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो रुचिका कारण पुस्तकका पाठकहरूको संख्या घट्दै गएको आंकलन गरिन्छ । तर, काठमाडौंमा हुने पुस्तक प्रदर्शनीमा पाठकहरूको बाक्लो उपस्थितिले त्यो मान्यतालाई चुनौती दिन्छ ।

प्रज्ञा प्रतिष्ठानले वर्षेनी गर्ने प्रदर्शनीमा सबै उमेर समूहका पाठकहरूको उपस्थिति देखिन्छ । लाखौंको पुस्तक किनबेच हुन्छ । पुस्तक प्रदर्शनीमा आउने पाठकहरूको बुझाइमा पुस्तकभित्र पाइने आधिकारिक ज्ञान सामाजिक सञ्जालबाट पाउन कठिन छ ।

त्यसैले प्राज्ञिक संघसंस्थाहरूले यस्ता मेला र प्रदर्शनी बारम्बार गर्नुपर्ने उनीहरूको मत छ । प्रदर्शनीमा सोध, अनुसन्धानमुलक, जीवनी, जन्ममृत्यु संस्कार गरि विभिन्न विधाका, पुस्तकहरू राखिएको छ । जुन ज्ञान अन्यत्र पाउन दुर्लभ भएको पाठकहरूको बुझाइ छ ।

विद्यार्थी, श्रष्टा, अन्वेषकदेखि स्वयं लेखकहरू पुस्तक किन्न आउने गरेका छन् । उनीहरू दुर्लभ कृति खोज्छन्, जुन अरुतिर पाउन असम्भव छ । पुस्तक पढ्दा आउने आनन्द अरु माध्यमबाट प्राप्त नहुने उनीहरूको बुझाइ छ ।

प्रदर्शनीको चौथौ दिनसम्म ३ लाख मूल्य बढीको पुस्तक बिक्री भइसकेको छ । मेलामा उल्लेख्य सहुलियतमा पुस्तक बिक्रीका लागि राखिएकाले पाठकहरूको रुचि बढेको बिक्रेताको अनुभव छ ।

प्रज्ञा र चेतनामा काम गर्नुपर्ने सरकारी स्वामित्वका संस्थाहरू प्रज्ञा प्रतिष्ठान र साझा संस्थाले औपचारिकताका लागि यस्ता प्रदर्शनी गर्ने गरेका छन् । बिक्री गर्न नसकेर करोडौंका पुस्तक नष्ट गर्ने सरोकारवालाहरूले देशैभरि पुस्तक मेला गरी पठन संस्कृतिलाई प्रभावकारी बनाउन आवश्यक छ ।