१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिफा वरीयतामा नेपाल ८ स्थान तल


234
Shares

काठमाडौं । नेपाल फिफा वरीयतामा एकै पटक ८ स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल ८ स्थान तल झर्दै १७६ औं स्थानमा पुगेको छ ।

यसअघि मार्चमा जारी भएको वरीयतामा नेपाल १६८ औं स्थानमा थियो ।

नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो ।

छनोटमा नेपाल जोर्डनसँग २–०, कुवेतसँग ४–१ र इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । तीन खेलमा हारेको असर वरीयतामा समेत परेको हो । नेपाल एकै पटक वरीयतामा धेरै स्थान गुमाएको सन् २०१४ पछि यो पहिलो पटक हो ।

त्यस वर्ष सेप्टेम्बरमा नेपाल एकै पटक १७ स्थान तल झरेको थियो । यस वर्ष भने फेब्रुअरीमा १६७ औं स्थानमा रहेको नेपाल मार्चमा एक स्थान तल झरेको थियो । दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल भारत र माल्दिभ्सपछि छ ।

भारत १०४ औं र माल्दिभ्स १५६ औं स्थानमा छ । नेपाल भन्दा पछि रहेका भुटान १८६ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९६ औं र श्रीलंका २०७ औं स्थानमा छन् ।

विश्व वरीयतामा ब्राजिल शीर्ष र बेल्जियम दोस्रो स्थानमा यथावत रहँदा अर्जेन्टिना तेस्रो स्थानमा उक्लेको छ । फ्रान्स चौथो स्थानमा झर्दा इंग्ल्याण्ड पाँचौ स्थानमा यथावत छ । यसैगरी स्पेन छैटौं, इटली सातौं, नेदरल्यान्ड्स आठौं, पोर्चुगल नवौं र डेनमार्क दशौं स्थानमा छन् ।

एसियाली राष्ट्रहरुमा अघि रहेका इरान २३ औं र जापान २४ औं स्थानमा छन् ।