
काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा निगमकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त हुनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गर्नुभएको हो ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी अब ज्वारचनले सम्हाल्ने मन्त्रालयले जनाएको छ ।
निगमको सञ्चालन निर्देशक रहेका ज्वारचनले वरिष्ठ पाइलटको हैसियतमा न्यूनतम उडान गर्ने गरी जिम्मेवारी पाएको बताइएको छ ।
सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई निष्काशन गरिसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारी छानबिन समिति बनेसँगै निलम्बनमा पर्नुभएको हो ।
पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहनु भएका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत रहेकाले उनले निगमको अस्तव्यस्त अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
कोभिड–१९ को महामारीका बेला अत्यवाश्यक स्वास्थ्य सामग्री ढुवानी गर्ने सन्दर्भमा ज्वारचन अग्रपंक्तिमा रहेको जनाइएको छ ।
राजनीतिक र आर्थिक विवादमा नपरेका र निगमकै वरिष्ठ पाइलटलाई सरकारले कार्यकारी जिम्मा दिएकोमा आन्तरिक रूपमा कर्मचारीले सन्तुष्टि व्यक्त गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्