१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा ८ स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने


1.261k
Shares

एजेन्सी । अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा ८ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ ।

उनको मृत्युपछि परिवारका सदस्यले स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको भन्दै छानविन गर्न माग गरेका थिए ।

छानबिन समितिले उनको उपचारमा व्यापक कमजोरी र अनियमितता देखिएको पुष्टि गरेसँगै न्यायाधीशले लापरबाहीपूर्ण हत्या गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिएका हुन् ।

म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा अर्जेन्टिनाको राजधानी ब्यूनस एरिजमा हृदयाघातका कारण निधन भएको थियो ।

सोही महिनाको सुरुतिर मस्तिष्कको शल्यक्रिया गराएका उनको स्वास्थ्यमा सुधार भइरहेको थियो ।

उनको निधन भएको केही दिनपछि अर्जेन्टिनी अभियोजनकर्ताहरूले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथि अनुसन्धान सुरु गरेका थिए ।

गत वर्ष २० जना विज्ञ सम्मिलित एउटा प्यानलले म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरूको टोलीले अनुपयुक्त, अपर्याप्त र गैरजिम्मेवार ढंगले काम गरेको पुष्टि गरेको थियो ।

अभियोग पुष्टि भएमा प्रत्येकले ८ देखि २५ वर्षको जेलसजाय भोग्नुपर्ने बताइएको छ ।