१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फोहोरको समस्या झनै विकराल बन्दै गयो : मन्त्री झाँक्री


5.174k
Shares

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्ने भन्दा पनि ठूलो रहेको बताउनुभएको हो ।

मन्त्री झाँक्रीले शहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताउनुभयो । उहाँले फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौंसम्म ऋणको भारी बोकिरहनुपर्ने बताउनुभयो ।

मन्त्री झाँक्रीले फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

काठमाडौंका मानिसले गरेको फोहोर बञ्चरे डाँडामा लगेर फालिने भन्दै त्यसबाट निस्किने सामाजिक मुद्दालाई सम्बोधन गरेर मात्रै अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

मन्त्री झाँक्रीले शौचालयको फोहोर ढलमा र ढल खोलामा लगेर मिसाउने गरेको भन्दै यस किसिमको नीति नियमको बाटो सुल्टो नभएको बताउनुभयो । फोहोर र ढलका समस्यालाई समाधान गर्न ऋण लिएर भए पनि समाधान केन्द्र बनाउनुपर्नेमा उहाँको जोड छ ।

मन्त्री झाँक्रीले असफलताबाट सिकेको पाठलाई अब नयाँ ढंगले अघि लैजान आवश्यक रहेको पनि बताउनुभयो । इक्षुमती वा तुखुचा (अपभ्रंस टुकुचा) खोला काठमाडौंको मध्यभागबाट बग्ने गर्छ । तर अव्यवस्थित शहरीकरणका कारण खोला प्रदूषित र अतिक्रमण भएको छ ।

ट्रिटमेण्ट प्लान्ट बनाएपछि फोहोर पानी प्रशोधन हुने र त्यसलाई बागमती नदीमा मिसाउने योजना रहेको छ । प्रशोधनका बेला निस्किएको स्लजलाई प्रशोधन केन्द्रबाट बायोग्यास उत्सर्जन गर्न प्रयोग गर्ने योजना छ ।

यसबाट १ लाख ४५ हजार मानिस लाभान्वित हुने सरकारले विश्वास गरेको छ । यस परियोजना अन्तर्गत घाटहरुको मर्मत सम्भार र पुनस्र्थापना गर्ने कार्ययोजना छ ।