
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानविन भइरहेको बताउनुभएको छ ।
मन्त्री कोइरालाले जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे अडियो सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाउन छानविन समितिनै गठन गरिएको स्पष्ट पार्नुभयो ।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले न्यायालय सुधारका लागि सरकारले अभियाननै सञ्चालन गरेको दाबी गर्नुभयो ।
न्यायाधीशको नियुक्ति नै गलत ढङ्गले हुने भएकाले न्यायालयमा विकृति र विसङ्गति बढ्दै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको स्मरण गराउनुभयो ।
‘विगत केही समयदेखि न्यायलयहरूप्रतिको आस्था गिर्दै गएको छ, सार्वजनिक अडियोको सत्यतथ्य खोजविन गर्दैछौं, समिति बनाइएको छ,’ उहाँले भन्नुभयो, ‘त्यो घटना बाहेकलाई हेर्ने हो पनि न्यायालय भित्र विकृति र विसंगति थियो, सुधारका लागि आन्दोलन नै भयो ।’
मन्त्री कोइरालाले न्यायालय भित्रको गिर्दै गएको आस्थालाई जोगाउन सरकार लागि परेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्