१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


‘नेपाली वस्तुलाई ईकमर्सको माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सरकारको लक्ष्य’


91
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाली उत्पादित वस्तुलाई ईकमर्सको माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।

बिहीबार नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाली उत्पादनको बजारीकरणका लागि भर्चुअल अनलाइन शुभारम्भ कार्यक्रममा बोल्दै उद्योग मन्त्री बडूले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्रिय उत्पादनलाई गुणस्तरीय बनाएर अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने अभियानमा साना तथा मझौला उद्योगको महत्वपूर्ण भूमिका रहने विश्वास गर्नुभयो ।

मन्त्री बडूले निजी क्षेत्रका उत्पादित वस्तु बजारीकरणका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले सरकारले ठूला र घरेलु तथा मझौला उद्योगलाई वस्तु तथा सेवाको खरिद र बजारीकरणमा जोड्न चाहेको बताउनुभयो ।

मन्त्री बडूले ठूला उद्योग र साना उद्योगबीचको सहकार्यले उत्पादन क्षमता र बजारीकरणको पहुँचमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । ठूला र साना तथा मझौला उद्योगको समस्याहरू आर्थिक तथा मौद्रिक नीतिमार्फत समाधानका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि उल्लेख गर्नुभयो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुक अहिले ठूलो आर्थिक शंकटमा गुज्रिरहेको बताउनुभयो । उहाँले लामो समयदेखि बजारमा तरलताको अभाव हुँदा व्यापार व्यवसाय मन्दितर्फ जान लागेको बताउनुभयो ।

अध्यक्ष गोल्छाले अर्थतन्त्रको ऐनाको रूपमा रहेको शेयर बजार गम्भीर स्थितिमा पुगेको बताउनुभयो । उहाँले ५० लाख शेयर लगानीकर्ता ठूलो शंकटको घडीमा पुगेको दाबी गर्नुभयो । वाह्य कारणले बजारमा १८ प्रतिशत बढी मूल्यवृद्धि भएको र आगामी दिन अझ बढ्दै जाने अवस्था रहेको उहाँको भनाइ छ ।

अध्यक्ष गोल्छाले विदेशबाट आयात गरेर मात्रै अर्थतन्त्र चलाएकाले तरलता अभाव भएर एक वर्षमा १०० प्रतिशतले बैंकको ब्याज बढेको गुनासो गर्नुभयो । उहाँले अब पनि सरकार पक्षबाट केही नगर्ने हो भने अझ बढी गम्भीर स्थितिमा पुग्ने बताउनुभयो ।

अध्यक्ष गोल्छाले ‘खोजौं नेपाली, रोजौं नेपालीको’ नारा सान्दर्भिक भएता पनि राष्ट्रियताको आधारमा मात्रै उद्योग व्यवसाय गर्न नसकिने बताउनुभयो । उहाँले सरकारले साना र मझौला उद्योगका समस्या समाधान नगरेसम्म यो नारा नारामा नै सीमित रहने जिकिर गर्नुभयो ।

अध्यक्ष गोल्छाले साना र मझौला व्यवसायीहरूको लागि बैंकबाट कर्जा लिन बैंकहरूले ठूलो धितो माग गर्ने भएकाले नयाँ उद्यमीहरूको विकास हुन नसकेको दाबी गर्नुभयो ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारको डबल डिजिटमा आर्थिक वृद्धि गर्ने लक्ष्य बैंकको ब्याजदर सिङ्गल डिजिटमा नभएसम्म सम्भव नभएको बताउनुभयो ।

उहाँले अहिले सरकारले आर्थिक वृद्धिदर डबल डिजिटमा गर्ने भनिए पनि बैंकको ब्याजदर पनि डबल डिजिटमा रहेको बताउनुभयो । नेपाली उत्पादकत्व बढाउनको लागि उद्योगहरूलाई सरकारले नै असहयोग गरिरहेको उहाँको आरोप छ ।

अध्यक्ष मल्लले पछिल्लो समय मुलुकको व्यापार घाटा कहालीलाग्दो अवस्थामा रहेको बताउनुभयो । उहाँले सरकारको बजेट भन्दा बढी व्यापार घाटा रहेकाले उत्पादन बढाएर निर्यातमा जोड नदिए मुलुक आर्थिक शंकटमा पुग्ने बताउनुभयो ।