
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वास्तविक किसानले राहत नपाएपछि अनुदान हटाएर प्रोत्साहनको नीति लिइएको बताउनुभएको छ ।
विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग बिहीबार भएको छलफलमा मन्त्री शर्माले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले वास्तविक किसानले राहत नपाएपछि आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको बताउनुभयो ।
साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुन सक्ने देखेर यस्तो नीति लिइएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटबाट कृषिलाई पहिलो प्राथमिकता राखिएको जानकारी गराउँदै दातृ निकायको समेत साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
किसानको उत्पादन बजारसम्म सहजै पु¥याउनका लागि कृषि एम्बुलेन्सको सुरुआत गरेको उहाँले बताउनुभयो । उहाँले वार्षिक रु साढे तीन खर्बभन्दा बढीको कृषि वस्तुको आयातलाई प्रतिस्थापन नगरेसम्म व्यापार घाटा कम हुन नसक्ने निष्कर्ष रहेको पनि बताउनुभयो ।
बजेटले लिएको नीतिकै कारण भारतको हैदरावादमा रहेको दुईवटा सूचना प्रविधिसम्बन्धी विश्वविद्यालय सहकार्य गर्न नेपाल आइसकेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा विश्व बैंकका प्रबन्ध निर्देशक पान्जेस्तुले खाद्य सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको थियो । उहाँले आर्थिक विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु उपयुक्त भएको बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्