१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


नेकपा संकटः ओलीले सक्लान् नेपाललाई मनाउन ?


0
Shares

काठमाडौं, बैशाख १५ । प्रधानमन्त्री केपी ओली देशको र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको कमाण्ड सम्हालेयताकै सबैभन्दा बढी संकटको अवस्थामा परेका छन् ।

आफूले गरेका निर्णयहरु एकपछि अर्को गर्दै विवादित बनेपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली घेराबन्दीमा परेका हुन् । पार्टी र सत्ता दुबैतिर मनमौजी ढंगले चलाउन खोज्दा पार्टीभित्र ठूलो रोष प्रकट भएको छ ।

यसको बिऊ बनेको छ, पछिल्लो पटक दल फुटाउन सजिलो पार्न र संवैधानिक परिषदमा विपक्षी दललाई निषेध गर्नेगरी ल्याइएको अध्यादेश । प्रधानमन्त्री ओलीले ल्याएको दुबै अध्यादेशको पार्टीभित्र र बाहिर तीब्र आलोचना भएपछि बाध्य भएर उनले फिर्ता त लिएका छन् तर उनीमाथि पार्टीभित्र चर्को दबबा परेको छ ।

उनलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक छाड्न ठूलो दबाब छ । नेकपाको नौं सदस्यीय सचिवलायमा तीनजनाबाहेक सबै पुष्पकमल दाहाल–माधव नेपाल समूहतिर छन् । स्थायी र केन्द्रीय कमिटीमा पनि उनी अल्पमतमा परेका छन् ।

अरुलाई निषेध गर्न खोज्दा आफैले खनेको खाल्डोमा पर्ने भएपछि उनी अहिले बरिष्ठ नेता नेपाललाई मनाउनेतिर लागेका छन् । यसैकै लागि ओली आफैले नेपालसँग पटक पटक वार्ता गरिरहेका छन् भने उनका दूतहरु पनि नेपाललाई ओलीसँगै मिल्न र पूर्ववर्ती एमाले धार जोगाउन आग्रह गरिरहेका छन् । यसक्रममा सोमबार नै पनि ओलीले नेपालसँग लामो वार्ता गरेका छन् ।

अहिले आफूलाई सघाउन र महाधिवेशनपछि अध्यक्ष बन्न ओलीले नेपाललाई प्रस्ताव गरिरहे पनि पटक पटक धोका र पेलान खाएका नेपाल भने उधारोमा कुनै सहमति नगर्ने भन्दै हाताहाती सहमति गर्न भनिरहेका छन् ।

पार्टीमा अर्का अध्यक्ष दाहालसहितका नेताहरुसँग मन बाँझिरहेका बेला पार्टीभित्र र मन्त्रिपरिषदकै सदस्यसमेतलाई थाहा नदिई ओलीले राजनीतिक दल फुटाउन खुकुलो प्रावधानसहित दुई वटा अध्यादेश ल्याएपछि उनीप्रति कतै नेकपा ने फुटाउन खोजेको त होइन भन्ने आशंका चुलिएको थियो ।

तर उनले आफ्नो दल लक्षित नभई अरुका लागि ल्याएको भन्दै बचाउ गरेका थिए । अध्यादेश ल्याएको ४८ घन्टाभित्रै मधेश केन्द्रित समाजवादी पार्टी फुटाउने असफल खेल टुंग्गिएपछि उनको यो निर्णयले पार्टी र सरकारको साख गिरेको भन्दै पद छाड्न दबाब बढिरहेको छ ।

समाजवादी पार्टी फुटाउन उक्त दलका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्न उनको निकटका दुई सांसद महेश वस्नेत र किसान श्रेष्ठ तथा पूर्व आईजिपी सर्वेन्द्र खनाल लागेको प्रष्ट भैसकेको छ । यसका लागि पूर्व मन्त्री गोकुल बाँस्कोटासमेतको संलग्नता देखिएको छ ।

सांसद यादवलाई अपहरण गरेर महोत्तरीदेखि काठमाडौंसम्म ल्याइएको भन्दै ती तीन जनाविरुद्ध नवगठित जनता समाजवादी पार्टीका नेताहरुले शरीर बन्धक एवं अपहरणको मुद्दा लगाउन खोजिरहेका छन् । मुद्दा दर्ता गर्न आइतवार काठमाडौं प्रहरी परिसर पुगेका जसपाका नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलाई यो मुद्दा काठमाडौंमा दर्ता गर्न नमिल्ने भन्दै फिर्ता पठाइदिएको छ । प्रहरीले घटनाको शुरुवात महोत्तरीमा भएकाले त्यही दर्ता गर्न भनेको छ ।

यस्तो पृष्ठभूमिमा नेता नेपालसँग सहमति खोज्न ओलीले आफ्ना निकटहरु सम्मिलित टोली खटाएका छन् । स्रोतका अनुसार बैठकमा ओली समूहबाट ईश्वर पोखेरल, प्रदीप ज्ञवाली र शंकर पोखेरललाई खटाइएको छ । नेपालले पनि ओली समूहका नेताहरुसँग छलफल गर्न भीम रावल, रघुजी पन्त र सुरेन्द्र पाण्डेलाई खटाएका छन् ।

उक्त टोलीबीच हुने छलफलले नै ओलीको सत्ता संकट हटाउन निकास खोज्न सक्छ या सक्दैन, त्यसैले नेकपाभित्रको सत्ता संकटको अर्को खेल शुरु हुने÷नहुने प्रष्ट गर्नेछ ।