
नवलपरासी । दृष्टिबन्धकबाट स्थानीयलाई ऋण दिएका नवलपरासीका दुई जना मिटरब्याजी साहुलाई प्रहरीले पक्राउ गरेको छ ।
आफूले लिएको ऋणको मिटरब्याज सरह ब्याज लिएर उठिबास बनाएको भन्दै नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकाका ४० बढी ऋणीले ८ दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका हुन् । मिटरब्याजी विरुद्ध काठमाण्डौंमा आन्दोलन हुन थालेपछि गृहमन्त्रालयले जिल्लामा निगरानी बढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो ।
पक्राउ पर्नेमा ऋणीहरुलाई ऋण दिएका नवलपरासी प्रतापपुर गाउँपालिका बेलाटारीका सुनिल बाँनिया र जगदिश बाँनिया रहेका छन्। जिल्लामा स्थानीयलाई ऋण दिएका दुई साहुलाई बिहिबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र वास्तविकता बुझेर प्रकृया अघि बढाइने उहाँले बताउनुभयो ।
ऋणीहरुले तोकिएको ऋण भन्दा बढी बुझाएको रकम फिर्ता हुनुपर्ने र रकम दिन नसकेर साहुले लिएको जग्गा फिर्ता हुनुपर्ने माग राखेका छन् । उनीहरुले आफूले लिएको रकमको सात गुणा बढी तिरिसक्दा पनि अझै बाँकी रहेको भन्दै भएको जग्गा पनि हड्पन खोजेपछि आन्दोलन गर्नुपरेको बताएका छन् ।
यता साहुहरुले भने मालपोत कार्यालयबाट राजश्व दिएर दुष्टि बन्धकबाट ऋण दिएको र सावाँ दिए ब्याज छाडिदिने बताएका छन् । कानूनी प्रकृया पूरा गरेर लिइएको ऋणीको जग्गासमेत साँवा पाए फिर्ता गर्ने साहुहरुको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्