१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


तोकिएकै समयमा बैठकमा उपस्थित हुन मन्त्रीलाई अध्यक्ष तिमिल्सिनाको रुलिङ


78
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीहरूलाई राष्ट्रिय सभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन रुलिङ गर्नुभएको छ ।

राष्ट्रिय सभाको आज (शुक्रबार) को बैठकमा अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुने विषय संविधानले व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

उहाँले सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अगाडि बढाउनु र सदनमा उठेको प्रश्नको जवाफ दिन सम्बन्धित मन्त्रीको जिम्मेवारी रहेको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरूलाई राष्ट्रिय सभाको बैठकमा तोकिएको ठिक समयमा उपस्थित भई सदनमार्फत जनताप्रति जवाफदेही बन्न रुलिङ गर्नुभयो ।

‘लोकतान्त्रिक प्रणालीमा सार्वजनिक जवाफदेहिताको विशेष महत्व हुन्छ,’ उहाँले भन्नुभयो, ‘तसर्थ म नेपाल सरकारका मन्त्रीहरूलाई राष्ट्रिय सभाको बैठकमा तोकिएको ठिक समयमा उपस्थित भई सदनमार्फत जनताप्रति जवाफदेही बन्न रुलिङ गरेकाे छु ।’

लोकतान्त्रिक प्रणालीमा सार्वजनिक जवाफदेहिताको विशेष महत्व हुने उहाँले बताउनुभयाे ।