
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गर्नुभएको छ ।
शुक्रबार बसेको पार्टीको पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाउन पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गर्नुभएको हो ।
उहाँले शनिबार (भोलि)सम्ममा मन्त्रीहरु हेरफेर भइसक्ने पनि बताउनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपालले पार्टीको निर्णय परिवर्तन नहुने बताउनुभएको पनि जानकारी दिनुभयो
अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई प्राथमिकता दिइने बताउनुभयो । उहाँले गठबन्धनले आफूहरुलाई मुख्य एजेण्डा बनाएको नबनाएकोमा ध्यान दिने उल्लेख गर्दै देशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेदवारी दिनेगरी तयारी गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
अध्यक्ष नेपालले विगतमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले गरेको व्यवहारलाई सुधार गर्न सकेमा गठबन्धनले बढी जित हासिल गर्ने बताउनुभयो । एकीकृत समाजवादीले नेपाली काँग्रेस र माओवादी केन्द्रले विगतका गल्ती नदोहो¥याओस् भन्नेमा जोड दिएको अध्यक्ष नेपालको भनाई थियो ।
अध्यक्ष नेपालले देश अन्तर्राष्ट्रिय खेल मैदान बन्न लागिरहेको भन्दै देशभक्ति र स्वाभिमानका लागि प्रत्येक नेपालीहरुले आवाज उठाउनुपर्ने धारणा व्यक्त गर्नुभएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । असंलग्न परराष्ट्र नीतिमाथि बाधा पुग्ने चिजहरुबाट जोगाउनको निम्ति पार्टीलाई परिचालित गर्नुपर्ने अध्यक्ष नेपालको धारणा रहेको उहाँले बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) ले शनिबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्