१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


आफ्नै अध्यक्ष डा. लोहनीले गरेको सहमतिको कमल थापाले गरे विरोध


13
Shares

काठमाडौं, बैशाख १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आफ्नै अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले गरेको सहमतिको अर्का अध्यक्ष कमल थापाले विरोध गरेका छन् ।

सोमबार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपाका नेता सम्मिलित बैठकमा सहभागि भई डा. लोहनीले सरकारविरुद्ध संयुक्त मोर्चा बनाउने सहमतिमा हस्ताक्षर गरेका थिए ।

तर थापाले भने आफ्नो पार्टीले सरकारविरुद्ध संयुक्त संघर्ष वा मोर्चाबन्दी गर्ने कुनै निर्णय नगरेको प्रष्टीकरण दिएका छन् ।

तीन पार्टीका नेताको बैठकले सोमबार लोकतन्त्रवादी शक्तिहरूले एकताबद्ध भएर संघर्ष गर्ने प्रतिवद्धतासहितको तीनबुँदे विज्ञप्ति जारी गरेका थिए । तर लोहनीको हस्ताक्षर भएको विषय सार्वजनिक भएलगत्तै थापाले राजनीतिक ध्रुवीकरण गरेर अस्थिरता सिर्जना गर्नु उपयुक्त नहुने टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा थापाले लेखेका छन्, ‘सरकारका स्वेच्छाचारी गतिविधि र अधिनायकवादी प्रवृत्तिको राप्रपाले सशक्त विरोध गर्दै आएको छ । भविष्यमा पनि गरिरहने छ । संकटको वर्तमान घडीमा राजनीतिक ध्रुवीकरण गरेर अस्थिरता सिर्जना गर्नु उपयुक्त हुँदैन, दलहरूबीच मोर्चाबन्दी गर्ने र संयुक्त संघर्षमा जानेबारे राप्रपाले कुनै निर्णय गरेको छैन ।’ 

भर्खरै पार्टी एकता गरेको राप्रपामा थापा, डा.लोहनी र पशुपति शमशेर राणा तीनै अध्यक्षको हैसियत समान रहेपनि थापाले लोहनीले गरेको निर्णय नमान्ने संकेत गरेका छन् ।