१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


कोरोनाबारे ‘गलत जानकारी फैलाएको’ आरोपको चीनद्वारा ठाडै खण्डन


0
Shares

एजेन्सी, बैशाख १५ । कोरोना भाइरसको बारेमा गलत जानकारी फैलाइरहेको भन्ने आरोपको चीनले ठाडै अस्वीकार गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले उक्त आरोपको खण्डन गर्दै आफै त्यस्ता सूचनाको मारमा परेको बताएको हो ।

गत हप्ता युरोपेली संघले चीनले ‘महत्वपूर्ण तथ्य’ लुकाएर अपरेशन चलाइरहेको आरोप लगाएको थियो । बेलायत र अमेरिकाले चीनले कोभिड–१९ बाट ज्यान गुमाउनेको वास्तविक संख्या लुकाएको दाबी लगातार गर्दै आएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ्ग शुआङ्गले सोमबार पत्रकारहरुसँग भने, ‘चीन कुनै पनि व्यक्ति र संस्थानको माध्यमबाट गलत जानकारी दिने या फैलाउने क्रियाकलापको विरुद्ध छ । चीन गलत जानकारीको स्रोत नभइ आफै त्यसको शिकार बनेको छ ।’

चीनले कोरोना भाइरसको संक्रमणको उद्गमस्थल वुहानमा ज्यान गुमाउनेको संख्या सच्याएर बढाएपछि चीनमाथि आशंका गर्नेहरुलाई थप बल मिलेको हो ।

चीनले अहिलेसम्म ८२ हजार आठ सय ३० जना संक्रमित भएका र चार हजार ६ सय ३३ जनाको मृत्यु भएको बताएको छ ।