२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाल्पामा पाँच वर्षमा पनि सडक बन्न सकेन

कामलाई तीव्रता दिन नसक्दा सडक अलपत्र

351
Shares

पाल्पा । बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक पाँच वर्ष बितिसक्दा पनि जस्ताको त्यस्तै छ ।

चुरे क्षेत्रको सम्भाव्यता अध्ययनबिना सडक खन्दा र टुक्रे बजेट विनियोजन हुँदा पाँच वर्ष बित्न लाग्दा समेत वैकल्पिक सडक अलपत्र परेको हो । जोखिम युक्त सडकको वैकल्पिक सडक भनिएपनि पर्याप्त अध्ययनबिनानै सडक निर्माण थालिदा स्थानीयले समस्या झेल्दै आएका छन् ।

प्रदेश सरकारको मुख्य आयोजना अन्तर्गत रहेको यो सडकका लागी सुरुदेखि नै बजेट छुट्टयाए पनि कामलाई तीव्रता दिन नसक्दा सडक अलपत्र परेको छ । सिद्धबाबा सडकले वर्षा याममा वर्षेनी यात्रुको ज्यान लिने र हप्तौंसम्म सडक अबरुद्ध गरेको भन्दै वैकल्पिक सडकको रुपमा यो सडकको निर्माणमा दबाव बढेको थियो । सडक बनेसँगै सुविधा होला भन्ने आश गरेका नागरिक पाँच वर्षसम्म पनि सडकको अत्तोपत्तो नहुँदा निराश बनेका छन ।

रुपन्देही र पाल्पामा पर्ने यो सडक खण्डबाट हालसम्म वातावरणीय दृष्टिकोणबाट पनि फाइदा भन्दा नोक्सानी र क्षति बढी भएको देखिन्छ । जोखिम युक्त सडकको वैकल्पिक सडक भनिएपनि पर्याप्त अध्ययनबिनानै सडक निर्माण थालिदा स्थानीयले समस्या झेल्दै आएकाछन् । महाभारत तथा चुरे क्षेत्रमा भौतिक निर्माणमा मेसिनको प्रयोग गर्न नपाइने भएपनि मेसिनको प्रयोग गरिएको छ । जसका कारण कमजोर भू-बनावटले भोलिका दिनमा सास्ती ननिम्त्याउला भन्न सकिने अवस्था समेत छैन् ।

जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न ३० करोड रुपैयाँ बढी रकम खर्चिएको छ । २०७५ सालमै प्रदेश सरकारले यो सडकका लागि १० करोड रुपैयाँ छुट्टयाएको थियो । त्यस्तै पाल्पाका सबै स्थानीय तहले पाँचदेखि ३० लाख रुपैयाँसम्म विनियोजन गरेका थिए । जिल्ला समन्वय समिति पाल्पाले ट्रयाक खोल्ने बेलामा नै एक करोड छुट्टयाएको थियो।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा यो सडकका लागि पुन: ७ करोड १६ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । सडक पूर्वाधार कार्यालय पाल्पाले सडक निर्माणको क्रममा कमजोर भू-भागको आंकलन नगरिंदा वर्षेनी पहिरोको समस्या थपिदै गएको जनाएको छ ।

यो खण्डको झण्डै १० किलो मिटर कमजोर भू-भागका कारण पहिरोको उच्च जोखिममा रहेका कारण यस खण्डमा स्तर उन्नतीको समेत काम बढ्न सकेको छैन् । राज्यको करोडौ रुपैयाँ लगानी बालुवामा पानी हाले सरह भएको छ । त्यसैले यस्ता सडकमा लगानी गर्दा सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।