१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जीतपुरसिमराको नगर सभा अमर्यादित बन्दा सुरु नै नभई स्थगित


403
Shares

बारा । बाराका १६ स्थानीय तह मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगरसभा अमर्यादित बनेपछि सुरु नै नभई स्थगित भएको छ ।

वडा सिलिङको विषयमा बैठक नराखी नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरु अमर्यादित रुपले प्रस्तुत हुन थालेपछि सभा स्थगित भएको हो । स्थानीय सरकार संचालन ऐनमा नभएको कार्यविधिमा टेकेर जबरजस्ती रुपमा बजेट विनियोजन गर्न अमर्यादित दबाव सिर्जना भएपछि नगरसभा स्थगित भएको उपमहानगर कार्यालयले जनाएको छ ।

वडाको सिलिङमा दिगो संरचना निर्माण नहुने, टुक्रे योजना ब्यापक हुने, उपभोक्ता समितीको नाममा आफन्त, ठेकेदार, कार्यकर्तालाई योजना बिक्री गरिने यस अघिको परिपाटी रोक्न वडाको आवश्यक बाहेका अन्य योजना नगरबाटै विधि प्रक्रिया अनुसार संचालन गरिने बुझेपछि आक्रोशित बनेका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरसभा बिथोलेको हो ।
उपप्रमुख भोला अधिकारीले सभा अमर्यादित र उदण्डताको कारण नै नगरप्रमुख रहेको आरोप लगाउनुभयो ।

यता नगरप्रमुख राजन पौडेलले जनप्रतिनिधि उत्तरदायित्वबाट बिमुख बन्नुको कारण स्थगित नगरसभा चाढै संचालन हुने बताउनुभयो । करिब १ अर्ब ५५ करोड बजेट प्रस्तुत गर्ने तयारीमा रहेको जीतपुरसिमरा उपमहानगरमा यस अघि पटक-पटक वडाको सिलिङमा करोडौं रकम भागबण्डाको विषयमा कुरा नमिलेर नगरसभा स्थगित हुने गरेको थियो ।

जिल्लको कलैया उपमहानगरसहित अन्य स्थानीय तहले विगतको विकृति देखेर वडाको सिलिङमा ५० लाख भन्दा कम रकम विनियोजित गरेको छ ।