
ओखलढुंगा । मल्चिङ प्रबिधिबाट व्यवसायिक तरकारी खेती थालेका ओखलढुंगाका किसानले लाखौँ आम्दानी गर्न थालेका छन् ।
गोडमेल गर्नु नपर्ने, कम सिंचाइमा पनि हुने र थोरै जग्गामा धेरै आम्दानी लिन सकिने भएपछि यो प्रविधिबाट किसानले लाखौँ आम्दानी गर्न थालेका हुन् ।
यो प्रविधि अपनाएर सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका किसान टीकामाया खड्काले खबै खर्च कटाएरै वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहनु भएको छ । उहाँले ५० रोपनी क्षेत्रमा मल्चिङ प्रविधिबाट टमाटर, खुर्सानी, घिरौलालगायतका तरकारी लगाउनुभएको छ ।

सोही ठाउँका अर्का किसान तेजनारायण श्रेष्ठको आम्दानी पनि लोभलाग्दो छ । मल्चिङ प्रविधिकै कारण ११ रोपनी क्षेत्रमा लगाइएको अकबरे खेतीबाट उहाँले वार्षिक १२ लाख रुपैयाँ कमाउँदै आउनु भएको छ ।
विरुवाको वरपरको माटोको सतहलाई प्लाष्टिकले ढाक्ने प्रविधि नै मल्चिङ प्रविधि हो । परम्परागतरुपमा लगाइएको तरकारीभन्दा मल्चिङ प्रविधिबाट तेब्बर आम्दानी हुने गरेको किसानहरुको अनुभव छ । ज्यामिरेबाट सुरु भएको मल्चिङ प्रविधिमा आधारित तरकारी खेती अहिले जिल्लाका सबैजसो ठाउँका किसानले अपनाएर आम्दानी लिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्