१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उद्योगको क्षमता बढाउन आवश्यक छ : मन्त्री बडू


52
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले चलिरहेका उद्योगहरुको क्षमता बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले यस्तो बताउनुभएको हो । उहाँले कतिपय उद्योगहरु आफ्नो पूर्ण क्षमतामा चल्न नसकेको भन्दै सबै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नसके देशभित्र नै रोजगारीको अवसर सिर्जना हुने बताउनुभयो ।

मन्त्री बडूले अहिले भइरहेका उद्योगहरु ६० देखि ७० प्रतिशतसम्म मात्रै चल्न सकेको भन्दै यसलाई पूर्ण रुपमा चलाउने कार्यदिशमा सरकार अग्रसर रहेको बताउनुभयो । उहाँले रुग्ण उद्योग सञ्चालनका लागि उपयुक्त ढाँचा बनाउने काममा सरकार लागिरेहको भन्दै सरकारले स्वयं वा सरकार र निजी क्षेत्रको पीपीपी मोडेल वा त्यसभन्दा अतिरिक्त लामो लिजमा दिएर पनि रुग्ण उद्योग सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो ।

मन्त्री बडूले अहिलेको भन्दा रोजगारी र उत्पादन बढी वृद्धि गर्नेतर्फ सरकार अग्रसर रहेको बताउनुभयो ।