२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


काठमाडौं भित्रका विद्यालयमा समेत पुगेन पाठ्यपुस्तक : योगेश भट्टराई


247
Shares

काठमाडौं । नेकपा एमाले सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग गर्नुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले प्रदेश स्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै तत्काल पुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले काठमाडौं उपत्यका भित्रका विद्यालयमा समेत पाठ्यपुस्तक पुग्न नसकेको बताउनुभयो । भट्टराईले मुलुकभरका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसक्दा ८० लाख विद्यार्थीहरु अध्ययन तथा अध्यापनबाट बञ्चित भएको बताउनुभयो ।

उहाँले संसदमा शिक्षा मन्त्रीले १५ दिनमै पाठ्यपुस्तक पुर्‍याउनु प्रतिवद्धता जनाएपनि अहिलेसम्म ३० प्रतिशत भन्दा बढी पाठ्यपुस्तक विद्यालयमा पुर्‍याउने काम नभएको बताउनुभयो । भट्टराईले सबै विद्यालयहरुमा पाठ्यपुस्तक नहुँदा विद्यालयमा पढाई नै नभएको अवस्था भएकाले तत्काल पाठ्यपुस्तक उपलब्ध गराएर सहज रुपमा अध्ययन र अध्यापनको वातावरण बनाउन सरकारसँग माग गर्नुभयो ।

उहाँले कक्षा १ देखि ३ सम्म निजी क्षेत्रलाई किताव छपाई र वितरण गर्न दिँदा समयमा नै पुगेको तर ४ कक्षादेखि माथि जनक शिक्षा सामग्रीले पुर्‍याउन नसकेको बताउनु भयो ।

सांसद भट्टराईले अब केही समयमा विद्यालयहरुमा पहिलो त्रैमासिक परीक्षा हुनुपर्ने भएपनि अहिलेसम्म पाठ्यपुस्तक नपुगेर अध्ययन अध्यापन शुरु नभएको कारण परीक्षाको प्रश्न र मूल्याङ्कन गर्न समेत समस्या देखिएको बताउनुभयो ।