
काठमाडौं । कृषि प्रधान भनेर चिनिने नेपालमा पछिल्लो ११ महिनामा मात्र १६ अर्बको फलफूल आयात भएको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ताजा तथा सुकेका फलफूलको आयातमा मात्र १६ अर्ब २१ करोडभन्दा बढी रकम विदेशिएको छ ।
छ अर्ब ६५ करोडको स्याउ आयात
विभागका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म छ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँबराबरको आठ करोड १५ लाख ३८ हजार ४२६ किलो स्याउ आयात भएको छ । त्यसबाट सरकारले ६३ करोड ५८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
स्याउ चीनबाट सबैभन्दा धेरै भित्रिएको तथ्याङ्कमा उल्लेख छ । चीनबाट मात्र पाँच अर्ब ४८ करोड ८० लाख १७ हजार रुपैयाँ बराबरको स्याउ आयात हुँदा भारतबाट एक अर्ब १५ करोड ५९ लाख ८३ हजार, अमेरिकाबाट ४४ लाख १३ हजार, टर्कीबाट २६ लाख २५ हजार र गिनी बिसाउबाट एक लाख ६१ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको विवरणमा उल्लेख छ ।
दुई अर्ब बढीको अङ्गुर आयात
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म दुई अर्ब १९ करोड ५३ लाख ३५ हजार रुपैयाँको तीन करोड २१ लाख ३१ हजार ७९२ किलो अङ्गुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले ११ करोड ११ लाख ७४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाइएको छ ।
एक अर्ब ५७ करोडको केरा आयात
नेपालीले ११ महिनाको अवधिमा रु एक अर्ब ५७ करोड ४७ लाख ५३ हजार बराबरको केरा आयात गरेको छ । जेठ मसान्तसम्म कूल छ करोड २१ लाख ६३ हजार ९८८ किलो केरा आयात भएको छ । त्यसबाट सरकारले १९ करोड १२ लाख तीन हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
विभागको विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । एघार महिनाको अवधिमा मात्रै एक अर्ब २४ करोड ८६ लाख २१ हजार रुपैयाँ बराबरको दुई करोड २८ लाख चार हजार १७३ किलो सुन्तला आयात भएको छ ।
त्यस्तै जेठ मसान्तसम्म एक करोड चार लाख ८४ हजार १०१ किलो अनार आयात भएको छ । त्यसका लागि एक अर्ब नौ करोड तीन लाख ९८ हजार रुपैयाँ रकम बाहिरिएको छ । यस्तै खरबुजा एक करोड ९७ लाख ३९ हजार २७७ किलो आयात भएको छ । खरबुजाको आयात मूल्य ५१ करोड ३१ लाख ९१ हजार रुपैयाँ छ ।
नेपालको हावापानी सुहाउँदो फलका रूपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार जेठ मसान्तसम्म ६६ लाख ४४ हजार १६१ किलो मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य २३ करोड ४० लाख दुई हजार रुपैयाँ छ ।
यस्तै, यस अवधिमा १५ करोड आठ लाख ३९ हजारको नास्पाती, १२ करोड चार लाख ६२ हजारको भुइँकटहर तथा ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबर अम्बा र आँप आयात भएको छ ।
एभोगाडोमा छ करोड ९१ लाख रुपैयाँ खर्च हुँदा छ करोड २२ लाख ६९ हजार रुपैयाँको किबी आयात भएको छ । यस अवधिमा तीन करोड ८७ लाख ६६ हजार मूल्यको लिची आयात भएको छ ।
प्रतिक्रिया दिनुहोस्