२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


महिला मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भयो : मन्त्री रेग्मी


117
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटको विषयमा संसदहरुले उठाएको प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताउनुभएको हो । उहाँले महिला,बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक गरी ७५ प्रतिशत भन्दा जनसख्याको अभिभावकत्व वहन गर्ने मन्त्रालयमा बजेट एकदमै कम भएको गुनासो गर्नुभयो ।

मन्त्री रेग्मीले मन्त्रालयको बजेट एउटा कुनै एक प्रोजेक्टको जति रहेको बताउनुभयो । उहाँले स्थानीय तहका एउटा नगरपालिकाले ४ अर्ब समेत बजेट पाउने गरेको तर महिला मन्त्रालयमा १ अर्बको मुख देख्नसमेत मुस्किल रहेको बताउनुभयो । उहाँले धेरै योजनाहरु भएपनि बजेट अभावकै कारण मन्त्रालयले काम गर्न नसकेको स्पष्ट पार्नुभयो ।

संसदहरुले मन्त्रालय खोरजको माग राखेपछि मन्त्री रेग्मीले महिला,बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक, अल्पसंख्यकको अभिभावक भएकाले मन्त्रालय खारेज गर्नु नहुने बताउनुभयो । उहाँले मन्त्रालयले भूमिका धेरै भएपनि बजेट अभाव रहेको बताउनुभयो । मन्त्री रेग्मीले महिला बालबालिका मन्त्रालयले स्थानीय तह पालिकाहरुमा पठाएको बजेट पालिकाहरुले खर्च गर्न नसक्दा बजेट फ्रिज भएको बताउनुभयो । उहाँले स्थानीय तह पालिकाहरुले महिला, बालबालिका र ज्येष्ठ नागरिकका विषयमा काम गर्न नसकेको बताउनुभयो ।

मन्त्री रेग्मीले महिला बालबालिका मन्त्रालयका महिला विकास जस्ता विभागहरु खारेज गर्दा मन्त्रालय काम गर्ने कुराहरु नकारात्मक प्रभाव परेको बताउनुभयो ।