
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आगामी आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षीलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ ।
सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण बिपक्षी दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको हो ।
उहाँले करका दर परिर्वतन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवारसमेत रहेको बताउनुभयो । मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्,नागरिक र सबै सांसदहरु सुझावको आधारमा ल्याएको दाबी गर्नुभयो ।
उहाँले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचाङ्क वृद्धि गर्ने अंक नै बजेटमा समावेश गरिएको बताउनुभयो । मन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा औधोकिकरण,उत्पादन र आयात प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्ने दाबी गर्नुभयो ।
अर्थमन्त्री शर्माले करका दर रेट घटाउने र बढाउने विषय अर्थमन्त्रीको क्षेत्र अधिकारको भएको बताउनुभयो । उहाँले अर्थमन्त्रीले बजेट नल्याएर,करका दर रेटलाई घटबढ नगरेर अरु के गर्नु पर्ने थियो ? भन्दै प्रश्न गर्नुभयो ।
मन्त्री शर्माले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक समृद्धि, आत्मनिर्भता, गरिब कम गर्ने र व्यवसायीक क्षेत्रलाई प्रोत्साहन गर्नेगरी ल्याउने अर्थमन्त्री अनैतिक नहुने बताउनुभयो । उहाँले करका दर रेट घटाउनु र बढाउनु अर्थ मन्त्रालयको मुख्य काम भएको बताउनुभयो ।
अर्थमन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा सरकारका संरचनालाई सुदृढ गर्ने कानूनहरुलाई राम्रो बनाउने र सँगै आम जनतालाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने विषय बजेटमा उल्लेख गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्