
काठमाडौं । प्राकृतिक र मौलिक संस्कृतिले सम्पन्न नेपालमा हलिउड र बलिउडका निर्माताहरू फिल्म छायांकनका लागि आउने गरेका छन् । अधिकांशले आफ्नै कथावस्तुमा यहाँका दृश्य राख्छन् भने केहीले यहीँका स्थानीय कथालाई आफ्नो चलचित्रमा समेट्ने गरेका छन् ।
यसैबीच चिनियाँ अमेरिकी लेखक, कलाकार र फिल्म निर्माता रोबर्ट लीनले नेपालको मौलिक विषयवस्तुमा फिल्म बनाउन लागेका छन् । दर्जन बढी अमेरिकी र चिनियाँ फिल्ममा अभिनय गरिसकेका लिन सन् २०१० मा पहिलो पटक नेपाल आएका थिए ।

आठ पटक नेपाल आइसकेका उनी यहाँका मौलिक कला संस्कृति र सम्पदाको बारेमा अध्ययन गर्न रुचाउँछन् । उनी पटक–पटकको आगमन र आम मानिससँगको घुलमिलपछि उनले यहाँका मौलिक विषयमा फिल्म बनाउने भएका हुन् ।
बुद्ध जीवनीमा आधारित फिल्म बनाउने तयारी गरेका उनले प्रारम्भिक खाका (ड्राफ्ट)समेत तयार गरिसकेका छन् । यस विषयमा सन् २०१९ मा पनि सानो प्रोजेक्ट तयार पारेर निर्देशक र निर्मातालाई देखाउँदा सकारात्मक प्रतिक्रिया पाएको उनको अनुभव छ ।
नेपालमा फिल्म बनाउन सकिने थुप्रै मौलिक विषयवस्तु भएको बताउँदै लिनले तत्कालको लागि बुद्धको बारेमा गहिरो अध्ययन र अनुसन्धान गरिहेको बताउँछन् । बन्ने फिल्ममा समेटिएको बुद्धको मानवपाटोले अन्तर्राष्ट्रिय ध्यान खिच्न सक्ने उनको अपेक्षा छ ।

नेपाल मण्डलको मौलिक बज्रयानी बौद्ध धर्म र जनजीविकाले आफूलाई प्रभावित गरेको लिन बताउँछन् । पछिल्लो पाँच महिना नेपाल बसाइको क्रममा दैनिकजसो बौद्ध विहार र बहाल घुम्दा यहाँका विषयवस्तुमा फिल्म बनाउन प्रेरणा मिलने उनी बताउँछन् ।
विश्वका फिल्म निर्मातालाई नेपालमा आकर्षण गर्न सके नेपालमा पर्यटक त बढ्छन् नै विश्व चलचित्र क्षेत्रका लागि उर्वर भूमि बन्ने सम्भावना छ । जसका लागि राज्यले सेवा सुविधासहित सहज वातावरण तयार गरिदिन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्