
काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित हुनुभएको छ ।
व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिह गर्न न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको घुस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्ले कोइरालामाथि छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।
समिति गठन भएको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै न्यायाधीश कोइराला निलम्बनमा पर्नुभएको हो ।
राजपत्रमा प्रकाशित सूचनामा कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरू सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानविन हुने उल्लेख छ ।
गत बिहीबार न्याय परिषद्ले परिषदका सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र सोही अदालतका न्यायाधीश महेश शर्मा पौडेल सहितको छानविन समिति गठन गरेको थियो ।
यसअघिनै न्यायपरिषद्ले कोइरालालाई कार्यसम्पादनमा रोक लगायने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्