
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको प्रतिवेदन सार्वजनिक गर्दै भन्सार विभागले १७ खर्ब ६३ अर्बको आयात गरेको देखिएको छ । गत वर्ष सोही अवधिमा १३ खर्ब ८३ अर्बको सामान आयात भएको थियो ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष २७ प्रतिशतले सामान आयातमा वृद्धि भएको छ । जसमा भारतबाट ११ खर्ब, चीन २ खर्ब ४४ अर्ब, अमेरिका ४७ अर्ब ७३ करोड, इन्डोनेसिया ४६ अर्ब २७ करोड र युएईबाट ४३ अर्ब ९६ करोडको सामान आयात भएको पाइएको छ ।
अर्जेन्टिना, अष्ट्रेलिया मलेसियालगायतका मुलुकबाट अर्बौंको सामान आयात हुँदा नेपालले जम्मा १ खर्ब ७३ अर्बको सामान निर्यात गरेको छ । मुलुकको विदेशी मुद्रा संचितिको अवस्थामा सुधार हुनुको साटो कमी हुँदै गएको देखिन्छ ।
गत वर्षको अन्त्यमा १३ खर्ब ९९ अर्ब रहेको कुल विदेशी विनिमय संचिति चालु वर्षको वैशाख सम्ममा ११ खर्ब ४६ अर्बमा झरेको छ । अहिलेको सन्दर्भमा विदेशी मुद्रा सञ्चिती वृद्धि गर्न संरचनागत समस्यामा सरकार र राष्ट्र बैंकले सुधारमा गर्नुपर्ने पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा बताउनुहुन्छ ।
अहिले विश्व बजारमा दिनप्रतिदिन अमेरिकी डलरको मूल्य वृद्धि हुँदै आएको छ । यो वृद्धिको असर भारतीय हुँदै नेपाली मुद्रासम्म आइपुगेको छ । यसले विदेशी मुद्रा भित्र्याउने नेपालको प्रमुख श्रोत पर्यटन कोरोना महामारीपछि सशक्त रूपमा माथि उठ्न सकेको छैन ।
प्रत्यक्ष विदेशी लगानी वैदेशिक लगानीको एउटा प्रमुख माध्यम भए पनि यसको आफ्नै विधि प्रक्रिया छ । यस्ता मुद्रा रातारात नआउने भएकाले मुद्रा सञ्चितीमा चाप परेको देखिन्छ । अर्को तर्फ रेमिट्यान्समा वृद्धि भए पनि हुण्डीको अवैध कारोबारले सरकारी ढुकुटीमा पैसा वृद्धि हुन सकेको छैन ।
खर्च जोगाउनुपर्ने ठाउँमा खर्च नजोगिँदा विदेशी मुद्रा सञ्चितीमा कमी भएको छ । विगतका वर्षको तुलनामा नेपालको निर्यातमा वृद्धि भएर भुक्तानी बढे पनि खुद नाफा बढ्न नसकेको देखिन्छ । मुलुकको अर्थतन्त्रले श्रीलंकाको बाटो पछ्याएको अड्कलबाजी हुँदा सरकारी अधिकारीले भने स्थिति बाहिर हल्ला भए जस्तो नभएको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्