
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपाली कांग्रेसलाई समाजवादको यात्रातर्फ आउन आग्रह गर्नुभएको छ ।
सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले नेपाली कांग्रेसलाई वामपन्थीहरुसँग मिलेर समाजवादको यात्रातर्फ आउन आग्रह गर्नुभएको हो ।
उहाँले कांग्रेस समाजवादमा आए स्वागत गर्न तयार रहेको बताउनुभयो । उहाँले कांग्रेस समाजवादमा नआउने हो भने समाजवादको पक्षधरहरु मिल्नुपर्ने धारणा राख्नुभयो । नेता खनालले गठबन्धन संसद विघटनको विरुद्धमा उभिएर संविधान बचाउन सफल भएको भन्दै आगामी दिनमा कुनैपनि प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताउनुभयो । उहाँले प्रतिपक्ष दल नेकपा(एमाले)ले स्थानीय निर्वाचन पछाडी बिना शर्त संसद चल्न दिनु वाम लोकतान्त्रिक गठबन्धनको विजय भएको उल्लेख गर्नुभयो ।
उहाँले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले यस्तो निर्वाचन प्रणाली अपनाएर समाजवादको बाटोमा जान कठिन हुने बताउनुभयो । उहाँले एक करोड रुपैयाँ नभई निर्वाचन लड्न नसक्ने अवस्था आएको भन्दै निर्वाचन प्रणालीमा आमुल परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले आम श्रमिक जनताले चुनाव लड्नसक्ने व्यवस्था बनाउनुपर्नेमा जोड दिनुभयो ।
सम्मानित नेता खनालले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै अमेरिकी सेना नेपाल आएमा चारपाटा मोडियोस् भन्नेहरु कहाँ छन् भन्ने प्रश्न गर्नुभयो । उहाँले सो कुरा संसदमा सोध्न बाँकी रहेको पनि बताउनुभयो । उहाँले अमेरिकासँगको एसपीपी सम्झौता रोकेर नेपालको राष्ट्रियता जोगिएको बताउनुभयो ।
उहाँले एसपीपी सम्झौता गरेको भए नेपालको असंलग्न परराष्ट्र नीति र एक चीन नीतिको विपरित हुने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्