
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रणबाङ नयाँ बजारको स्थानीयले सडकमै धान रोपाइँ गरेका छन् ।
म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रणबाङ नयाँ बजारका स्थानीय वासिन्दाले बेनी–दरबाङ सडकको रणबाङ नयाँबजार खण्डमा धान रोपेर सडक स्तरोन्नतिमा भएको ढिलासुस्तीप्रति विरोध जनाएका छन् ।
पानी परेर हिलाम्यै भएको सडकमा सोमबार स्थानीयले रोपाइँ गरेर सरोकारवालाहरुको ध्यानाकर्षण गरेका हुन् ।
विरुवा–क्याराभान जेभीले विसं २०७६ असार ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा बेनी–दरवाङ सडकको तेस्रो प्याकेजमा पर्ने मङ्गला गाउँपालिका–२ लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक निर्माणको काम जिम्मा लिएको थियो ।
तर, निर्माण कम्पनिले सडकको काम अलपत्र पारेरसम्पर्क बिहीन भए पछि बाध्य भएर सडकमा धान रोप्नु परेको स्थानीय श्रीराम पौडेलले बताउनुभयो । पौडेलका अनुसार गाउँका २० जना भन्दा बढिले सोमबार सडकमै धान रोपेर सडकको अवस्था जिल्ला स्थित सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी गराइएको हो ।
गत बैशाख महिनादेखि निर्माण व्यवसायी सम्पर्कविहीन हुँदा अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नु परेको उहाँले बताउनुभयो ।
२०७८ साल चैत महिनामा सकिएको सम्झौताको म्याद थप र काम अघि बढाउन पत्र तथा फोनमार्फत ताकेता गर्दा पनि निर्माण व्यवसायीले बेवास्ता गरेपछि जमानत जफत गरेर कारबाही प्रक्रिया थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
विसं २०७८ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो खण्डको हालसम्म करिब ५५ प्रतिशत भौतिक प्रगति भएको छ । गत बैशाख महिनादेखि कार्यक्षेत्र छाडेर गएका निर्माण व्यवसायी कार्यक्षेत्रमा अझै फर्किएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्