
काठमाडौं । अमेरिकाको टेक्ससमा एउटा लरिमा ४६ जनाको शव फेला परेको छ ।
टेक्ससको सान एन्टोनियोस्थित रेल वे ट्रयाक छेउमा अलपत्र अवस्थामा छाडिएको लरिमा ४६ वटा बेवारिसे शव फेला परेको र ती शव आप्रवासीहरुको भएको त्यहाँको प्रहरीले जनाएको छ । सोही लरिमा भेटिएका १६ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमा बालबालिका पनि रहेका छन् । लरीलाई रेल वे ट्रयाकको नजिक छाडेर भागेका लरिका चालकको ब्यापक खोजी गरिएको छ ।
टेक्ससका गभर्नर ग्रेग एबोटले अमेरिकी राष्ट्रपति जो बाइडेनले खुला सीमा नीति अपनाउनुको परिणाम भन्दै यसको जिम्मेवारी पनि बाइडेनले लिनुपर्ने बताउनुभएको छ । मेक्सिकोबाट मानव तस्करहरुले अमेरिकी सीमाना पार गराउने क्रममा उक्त घटना भएको अनुमान गरिएको छ । करिब ४० डिग्री सेल्सियस तापक्रम पुगेको क्षेत्रमा मानिसहरुलाई एउटै ट्रकमा कोचेर ल्याएका कारण उनीहरुको मृत्यु भएको आशंका गरिएको छ । मृतकहरुको पहिचान भने खुल्न सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्