
काठमाडौं । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापामा जंगली हात्तीको आतंक फेरि सुरु भएको छ ।
झापाको दुई तिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासले दिगो समाधान दिन सकेको छैन ।
झापाको उत्तरी गाउँ बाहुनडाँगीमा जङ्गली हात्तीको आतंक सुरु भएको थियो । त्यसयता विस्तारित मानव–हात्ती द्वन्द्व दक्षिणको कचनकबल र पश्चिमको दमकसम्म फैलिइसकेको छ ।
मानवीय र धनमाल क्षतिको ग्राफ पनि उकालिँदै गएको छ । वन डिभिजन कार्यालयका अनुसार अहिले जिल्लाको गौरादहबाहेक १४ पालिकामा मानव–हात्ती द्वन्द्वको समस्या छ ।
मेचीनगर, हल्दिबारी, भद्रपुर, कनकाई, अर्जुनधारा, बुद्धशान्ति र कचनकबलमा पनि यो समस्या विकराल बनिसकेको छ । विगत १० वर्षमै हात्तीको आक्रमणबाट झापामा ४० जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो दशकमा एक दर्जन हात्ती पनि मारिएका छन् । भारतको आसामसम्म विचरण गर्ने जङ्गली हात्ती पश्चिम बङ्गालको सुकुना जङ्गलबाट मेची नदी तरेर नेपालको बाहुनडाँगी पस्ने गरेका छन् ।
यसरी नेपाल पस्ने हात्तीको संख्या एक सयको बथानसम्म हुने गरेको छ । नेपालतिर अन्नबाली पाक्ने बेलामा लस्कर लागेर आउने हात्ती केही महिनापछि भारततिरै फर्किने गरेका छन् ।
हात्तीले क्षति पुर्याउन थालेपछि बाहुनडाँगीस्थित हात्ती छिर्ने मेची नदीको १८ किलोमिटर तटमा विद्युतीय तारबार निर्माण गरिए पनि समस्याको समाधान हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्