२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाउँदै


1.872k
Shares

काठमाडौं । नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ ।

सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धि अनुसार मूल नहर निर्माण कार्य थालनी भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरी सक्नुपर्ने भएपनि लामो समय नहर निर्माण ढिलाईको कारण गतिलिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो ।

महाकाली सिंचाई आयोजना तेस्रो चरणका अनुसार भारत तर्फबाट निमार्ण गरेको नहरको भागमा केही दिन अगाडिबाट परीक्षण गर्नको लागि पानी छोड्न थालेको छ । यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर बुधबार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ ।

लामो समय भारतले आफ्नो भूमीमा बनाउनुपर्ने मुल नहर निर्माणमा चासो देखाएको थिएन । तर केही वर्ष अगाडिबाट नहर निर्माणमा भारतीय पक्षले तदारुकता देखाएपछि २६ वर्षपछि नहरमा पानी आएको हो ।

महाकाली सिंचाई आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले तीन दिनदेखि निरन्तर रुपमा टनकपुर नहरबाट नेपालतर्फ पानी आइरहेको बताउनुभयो । उहाँले टनकपुर नहरबाट २६ वर्षपछि आएको पानीले भोलि असार १५ अर्थात धान दिवसको दिन नहरको पानीबाट किसानहरुले धान रोप्ने कार्यक्रमसमेत रहेको बताउनु भयो ।

निर्देशक बमले २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैमा खुसी छाएकोसमेत बताउनुभयो । उहाँले नहर निर्माण पूर्ण रुपमा पूरा नभएकोले निर्माण कार्य सम्पन्न भएको क्षेत्रलाई आधार बनाएर नहरमा पानी सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो ।

आयोजना निर्देशक बमले नेपाल भारत सन्धि भएको झण्डै २६ वर्षसम्म आउँदा मुल नहरको १८.५ किलोमिटर क्षेत्रमा मात्रै मुलनहर निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले व्रह्मदेव क्षेत्रबाट सन् २००१ मा मुलनहर निर्माण गर्ने भनेर अनुसन्धान थालिएको नहरको आर्थिक वर्ष ०६३÷०६४ देखि सिंचाइको मुख्य नहर निर्माण अगाडि बढाइएको बताउनुभयो ।

निर्देशक बमले मुलनहर निर्माण सुरु भएपनि नहर निर्माणको गति तीब्र भएको कारण नहरमा अहिल पानी बग्ने अवस्था आएको बताउनुभयो । व्रह्मदेव क्षेत्रबाट १५२ किलोमिटर लामो मुलनहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २४ किलोमिटरको शाखा नहर बनाउनुपर्ने नहरहको अहिले विभिन्न चरणमा नहर निमार्णको कार्य भइरहेको बताउनुभयो ।

उहाँले महाकाली सन्धिको धारा ४ अनुसार नेपाली इलाकाको दोधारा–चाँदनी क्षेत्रका लागि शारदा नहरबाट पाउने पानीको लागि पनि नहर निमार्णको काम अगाडि बढाइएको बताउनुभयो । निर्देशक बमले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आवश्यक जग्गा अधिकरण गर्नको लागि प्रक्रिया अगाडि बढाइएको पनि बताउनुभयो ।

सन् २०२२ सम्म मुलनहर निर्माण पूर्ण रुपमा सम्पन्न गरिसक्नुपर्ने भनिएपनि निर्माण पूरा हुने सम्भावना भने न्यून देखिन्छ । सन्धिअनुसार मूल नहरबाट नेपालले गर्मीमा २८.३५ क्युमेक्स पानी पाउनेछ भने हिउँदको समयमा ८.५ क्युमेक्स पानी प्राप्त गर्नेछ । मुल नहर निर्माणसँगै मुल नहरको शाखानहर निर्माण गर्ने कुरालाई पनि अगाडि बढाइएको छ ।

महाकाली सिंचाई तेस्रो चरण आयोजनाका अनुसार व्रह्मदेव क्षेत्रमा १२ वटा शाखा बिस्तार गरिनेछन् भने मुसेपानी हात्तीथला क्षेत्रमा १० वटा नहरका शाखा बिस्तार गरिने छन् । सन्धिअनुसार दोधारा–चाँदनी क्षेत्रमा भारतले १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी उपलब्ध गराउनेछ भनेर उल्लेख गरिएको छ । यस्तै भारतले भने सन् १९२८ मा नै निर्माण गरेकोे शारदा ब्यारेजबाट निरन्तर भारतीय भूमिमा पानी आपूर्ति गराउने नहर करिव साढे ११ हजार क्युसेक क्षमताको छ ।

नेपाली पक्षबाट समयमै नहर निमार्ण गर्न नसक्दा पानीको ठूलो हिस्सा कब्जा गरेको भारतले दोधारा–चाँदनीले पाउनुपर्ने जम्मा ३ सय ५० क्युसेक पानी पनि भारतले अहिलेसम्म दिएको छैन ।

सन् १९९६ मा नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि हुँदा दोधारा र चाँदनीलाई सिंचाइका लागि पानी दिनुपर्ने तथा भारतीय भूमिमा एक हजार दुईसय नहर निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो ।

वि.सं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो ।