१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘माथिल्लो तहका कर्मचारीहरूमा संघीयताप्रति नकारात्मक सोच छ’


533
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेताहरूले माथिल्लो तहका कर्मचारीहरूमा संघीयताप्रति नकारात्मक सोच रहेको बताएका छन् ।

मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै उनीहरूले संघीयता प्रति नकारात्मक माथिल्ला तहका कर्मचारीलाई संघीयतबारे प्रशिक्षण दिनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख सचेतक देव गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताउनुभयो । तीन तहको संरचना बनाएर एकात्मक प्रणालीको प्रशासनिक इकाइको रूपमा प्रयोग गर्न खोजिएको भन्दै उहाँले साँचो अर्थको संघीयता दुई तहको हुने र स्थानीय तह प्रदेशको मातहतमा रहने जिकिर गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रिय सभाका पूर्वसांसद रामनारायण बिडारीले माथिल्लो तहका कर्मचारीहरूमा संघीयताप्रति नकारात्मक सोच रहेको बताउनुभयो । उहाँले माथिल्लो तहमा रहेका कर्मचारी तथा अधिकारीहरुलाई संघीयता कार्यान्वयनको विषयमा प्रशिक्षण दिनुपर्ने बताउनुभयो । उहाँले नेपालको संघीयता प्रदेशहरूका कारण असफल हुनसक्ने तर्क गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसांसद दिनानाथ शर्माले सिंहदरबार संघीयताको पक्षमा नरहेको उल्लेख गर्दै सिंहदरबारलाई संघीयताको पक्षमा रुपान्तरित गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान अनुरूप प्रशासनिक र न्याय क्षेत्रको पुनःसंरचना हुन नसक्दा संघीयता कार्यान्वयनमा समस्या पैदा भएको बताउनुभयो । उहाँले राजनीतिक पार्टीहरु संघीयताप्रति प्रतिवद्ध र संघीयताप्रतिको बुझाइमा एकरुपता हुनुपर्ने बताउनु भयो ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संघीयता कार्यान्वयनको पक्ष फितलो भएको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तिनै तहका मानिसहरुको एकात्मक मानसिकता रहेको उल्लेख गर्नुभयो । उहाँले संविधान अनुरूपको कानून बनाउँदा संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिन नचाहने र प्रदेशले स्थानीय तहलाई अधिकार दिन नचाहने समस्या देखिएको बताउनुभयो ।