
काठमाडौं । नेकपा (एमाले)की सांसद विन्दा पाण्डेले संघीयता कार्यान्वयनमा प्रमुख जिम्मेवार राजनीतिक पार्टीहरू र नेताहरू नै हुनुपर्ने बताउनुभएको छ ।
मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै सांसद पाण्डेले संघीयता कार्यान्वयनका लागि प्रमुख जिम्मेवार पार्टीहरू र नेता नै हुनुपर्ने बताउनुभएको हो ।
नेताहरू नै संघीयताको मर्म विपरीत भोट माग्दै हिँड्ने गरेको उल्लेख गर्दै उहाँले संघीयताको कार्यान्वयन भएन भनेर राज्यका अन्य निकायलाई प्रश्न गर्न नमिल्ने बताउनुभयो । उहाँले संघीयताको अभ्यास राजनीतिक पार्टीहरूबाट सुरु गरे राज्यका निकायहरूले पनि शुरु गर्ने बताउनुभयो ।
‘सबभन्दा पहिला संघीयताको अभ्यास राजनीतिक दलले गर्न थालेपछि अरु संरचना चलाउने त्यही संरचनाले हो,’ उहाँले भन्नुभयो, ‘आफू रुपान्तरित र प्रणालीसम्मत भएको खण्डमा राज्यको कानून, संविधान यो प्रणाली अनुसार चल्न सकिन्छ ।’
उहाँले राज्यले र राजनीतिक पार्टीहरूले जनप्रतिनिधिहरूलाई संघीय प्रणालीको सम्बन्धमा प्रशिक्षित गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्