१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेको रामचन्द्र पौडेलको आरोप, ‘हस्तिनापुर’ संरक्षणको चिन्ता


0
Shares

काठमाडौं, वैशाख १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानका संरक्षक राष्ट्रपति ‘धृतराष्ट्र’ बनेको आरोप लगाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बुधबार लिखित धारणा राख्दै नेता पौडेलले राष्ट्रपति नै धृतराष्ट्र बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कसले गर्ला ? भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले देशमा अस्थिरता, अराजकता र भाडभैलो मच्चाउने काम गरेको आरोप पनि पौडेलले लगाए । प्रधानमन्त्रीले संवैधानिक परिषद र राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर अस्थिरता निम्त्याउने काम गरेको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीका पछिल्ला क्रियाकलापप्रति रुष्ट पौडेलले ‘एकातिर अध्यादेश जारी गर्ने, अर्काको पार्टी तोड्न सांसद अपहरण गर्न बाहुबली खटाउने र लकडाउनमा जनकपुरको गाउँमा बसिरहेको सांसदलाई आश, त्रास देखाउँदै काठमाडौं ल्याउने कार्य गर्नु रक्षक नै भक्षक बनेको हो कि होइन ?’ भन्दै प्रश्न गरेका छन् ।

साथै पौडेलले राष्ट्रपतिले खेलेको भूमिकामाथि पनि प्रश्न गर्दै भनेका छन्, ‘संविधानका संरक्षक राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कसले गर्ला ?’

कोरोना संकटका बेला संविधानको मर्म र भावना विपरीत संवैधानिक परिषद् आफ्नो मुठीमा ल्याउने र पार्टीहरुमा तोडफोड मच्चाउने नियतले दल त्याग सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश जारी गरी प्रधानमन्त्रीले अस्थिरता, अराजकता र भाडभैलो मचाउने खराब नियत राखेको आरोप उनले लगाए ।

सरकारका गतिवधिबाट जनतामा झन् बढी निराशा छाएको पनि नेता पौडेलले उल्लेख गरेका छन् ।