
बारा । धावनमार्ग अस्तव्यस्त बनेपछि सिमरा विमानस्थलको दैनिक हुने उडान जोखिममा परेको छ ।
धावनमार्ग मर्मत र कालोपत्रेको काम बिना सूचना निर्माण कम्पनीले तीन दिनदेखि रोकेर अलपत्र पारेपछि उडान र अवतरण जोखिममा परेको हो ।
रनवे मर्मतकोे अनुमति पाएको सप्तकोशी जलाधार प्रा.लि.ले धावन मार्गलाई खण्डखण्डमा कालोपत्रे गरेर छाडेपछि रनवे मै पानी जम्ने र विमान चिप्लिने खतरा बढेको छ ।

रनवे अलपत्र छाडेपछि चार निजी विमान कम्पनीले उडान संख्या घटाएर पाँच वटामा सिमित गरेका छन् ।
निर्माण कम्पनीले विवादास्पद पप्पु कन्स्ट्रक्सनलाई पेटी ठेक्का दिएको पाइएको छ । जसका कारण रनवे टिकाउ नहुने भन्दै गुणस्तरमा पनि आशंका गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले खटाएको केन्द्रीय प्राविधिक टोली समेत कार्यालयको सम्पर्कमा नआएको सिमरा विमानस्थलका अधिकृत राम ललित राउतले बताउनुभयो ।
बिहान ५ बजेदेखि दिउसो १ बजेसम्मको उडान अवधिबाहेक अन्य समयमा धावनमार्गको एक हजार १ सय ९० मिटर मर्मत र कालोपत्रे सम्पन्न गर्ने शर्तमा सप्तकोशी जलाधार प्रा.लि.ले १० करोडमा ठेक्का सम्झौता गरेकोे थियो ।
प्रतिक्रिया दिनुहोस्